काठमाडौं। सुदूरपश्चिम प्रदेशसभा सदस्य टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएकी छन् ।
उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने टीका थापालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त मन्त्री थापालाई प्रदेश प्रमुखले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन्।
यही वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए ।
आज थप एक मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरे पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन
सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्का दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै सकस देखिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखसमेत १० सदस्यको प्रतिनिधित्व छ ।
बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।