धनगढी । सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।
आइतबार कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले संशोधनको मागसमेत गर्दै बजेटप्रति असन्तुष्ट प्रकट गरेका थिए ।
बैठकमा मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा बाहेकका १३ जना प्रदेशसभा सदस्यहरुले पालैपालो बोलेका थिए ।
सुदूरपश्चिममा सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असन्तुष्ट सांसदहरुले शीर्ष नेताहरुलाई भेटेर बजेट संशोधन गर्नुपर्ने माग गरिसकेका छन् ।
प्रदेशसभाको बैठक अनिश्चित भएपछि सभामुख भीमबहादुर भण्डारीले सोमबार बिहान ९ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।