धनगढी । कैलालीको हसुलिया–बडैपुर सडक कालोपत्रे गरेको हप्ता दिनमै उक्किएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका र हुलाकी सडक अन्तरगत कैलारी गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम वर्षौँदेखि अलपत्र परेको थियो । स्थानीयको दबाबकाबीच कालोपत्रेको काम भइरहेको हो । तर भएको कालोपत्रे पनि गुणस्तरहीन बनेपछि स्थानीयलाई निराश बनाएको छ ।
१९ किलोमिटर रहेको हसुलिया–बडैपुर सडकको करिब पाँच किलोमिटर खण्डको अहिले कालोपत्रे भइरहेको छ । यो सडकको अधिकांश भाग जिल्लाको निर्वाचन क्षेत्र नं. ३ र केही भाग निर्वाचन क्षेत्र नं. ५ सँग जोडिएको छ ।
सडक डिभिजन कार्यालय कञ्चनपुरले पाँच किलोमिटर सडकमध्ये ४.३७५ मिटर कालोपत्रेको लागि २०७७ असार ७ गते बीबीएस कन्स्ट्रक्सन र नौ सय मिटरको लागि मल्ल कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । बीबीएस कन्स्ट्रक्सनले गरेको कालोपत्रे उक्किन थालेको हो ।
उक्त सडकमा ६ वटा ठेक्का लागेको र ति सबैको ठेक्का रकम करोडमाथि रहेको छ । पूर्व–पश्चिम राजमार्गदेखि कैलारी गाउँपालिकाको लौसासम्मको ३ किलोमिटर सडक कालोपत्र गरिएको छ । बाँकी १६ किलोमिटर सडकमा त ग्राब्रेलसमेत हराएको छ । यसले वर्षामा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ ।




