धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको छ । आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने पार्टीको प्रदेश कमिटी बैठकले निर्णय गरेको एक नेताको भनाई छ ।
प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीको भनाई छ । पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी उनको भनाई छ । एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।
५२ सदस्यीय प्रदेशसभामा १४ सांसदस एकीकृत समाजवादी पार्टीको छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद रहेका छन् ।




