विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई हटाए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको तयारी रहेको छ । बिनाकारण सभामुख विष्टलाई हटाउन सत्तारुढ दलहरू एमाले र कांग्रेसले गोप्य छलफल सुरु गरेको भन्दै विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले एकताबद्ध भएर प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
कोशी प्रदेशसभास्थित माओवादी संसदीय दलको कार्यालयमा बुधबार दिउँसो बसेको तीन दलका नेताहरू इन्द्रबहादुर आङ्बो, भक्तिप्रसाद सिटौला र राजेन्द्रकुमार राईबिचको बैठकले यस्तो सहमति गरेका हुन् ।
माओवादी दलका नेता आङ्बोका अनुसार कोशी प्रदेशमा सत्तारुढ दलहरूले राप्रपाका सभामुखलाई हटाएर उक्त पद नेपाली कांग्रेसलाई दिने तयारी गरिरहेको बुझिएको हुँदा विपक्षी दलहरूको बैठक बसेर हटाउन नदिने सहमति गरेको हो ।
सभामुख हटाउन महाभियोग लगाउनुपर्ने तर त्यसका लागि कुनै ठोस र वैध कारण हुनुपर्ने विपक्षीको तर्क छ ।





