November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हर्षोल्लासका साथ सकियो ‘वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

995

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई

भोजपुर । हतुवागढीमा सञ्चालित ३ दिने ‘बृहत हतुवागढी साहित्य उत्सव–२०८२’ हर्षोल्लासका साथ गत आइतबार सम्पन्न भएको छ ।

असार १३ गतेबाट सुरु भएको उत्सव १६ गते आन्तरिक तथा वाह्य कवि लेखकहरुको उपस्थितिमा सम्पन्न भएको हो । पात्लेपानी कला÷साहित्य, हतुवागढी–८ द्वारा आयोजित सो उत्सवमा गजल कार्यशाला, हतुवागढीको पहिचानमा पर्यटन र साहित्यको भूमिका(विमर्श), लघुकथा प्रतियोगिता, पुस्तक लोकार्पण, एकल कविता वाचन, सम्मान कार्यक्रमका साथै हतुवागढी सिर्जना उत्सव अन्तरगत कवि तथा गजलकारहरुले रचना वाचन लगायतका कार्यक्रम हरु रहेका थिए । दुइदिने गजल कार्यशालालाई गजलकारहरु रोमु अधिकारी र अच्युत भट्टराईले सहजीकरण गरेका थिए । कार्यशालामा ४० जना भन्दा धेरैले सहभागिता जनाएका थिए ।

Advertisement

यस्तै लघुकथा प्रतियोगितामा शुक्रराज कुवरको खत शीर्षकको लघुलथा प्रथम भएको थियो । दोस्रो र तेस्रो क्रमशः सत्या अधिकारी(स्वरुप) र उमानाथ दाहाल(धिक्कार) क्रमशः दोस्रो र तेस्रो भएका थिए । हतुवागढीमा जन्मिएका कवि तथा आख्यानकारहरुको कृति लोकार्पण समेत गरिएको थियो । आख्यानकारद्वय राज बान्तावा र बालिका बान्तावाको ‘दमाई माइला’ र ’प्याउली’ तथा कवि भीम विरही राईको कविता कृति ’बारुदले कोरेका अक्षरहरु’को लोकार्पण गरिएको थियो । उक्त कृतिहरुमाथि प्राध्यापक रमेश काफ्ले, तारानाथ पराजुली र कवि सुष्मा दाहालले धारणा राखेका थिए । ’हतुवागढीको पहिचानमा पर्यटन र साहित्यको भूमिका’ विमर्श समेत भएको थियो । विमर्शमा हतुवागढी गाउँ पलिका अध्यक्ष प्रेमकुमार राई र प्रख्यात कवि देवान किरातीले बोलेका थिए भने सो विमर्शका सहजीकरण कवि छबिना लुङ्गेलीले गरेका थिए । उत्सवमा कवि प्रकाश दिप्साली राईको एकल कविता वाचन कार्यक्रम राखिएको थियो । जहाँ हतुवागढीमा जन्मिएका कविताहरु, प्रेम कविताहरु र कवितामा विचार गरि ३ खण्डमा ९ वटा कविता प्रस्तुत गरेका थिए । दिप्सालीका कविताहरु माथि बोल्दै कवि तथा चित्रकार मुकुन्द प्रयासले दिप्सालीका कविताहरु गाउँ , देश समाज, खराब राजनीतिले आक्रान्त पारेको यथार्थता बोक्ने खालका रहेको बताउदै भाषामा अलिक काम गर्नुपर्ने टिप्पणी गरे।

सोही कार्यक्रममा हतुवागढीको साहित्याकासलाई माथि उठाउन भूमिका खेल्ने श्रष्ठाहरुलाई ’पात्लेपानी साहित्य सम्मान’ समर्पण गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा हतुवागढीका साहित्यकार म्यामराज राई र बराहक्षेत्रका कवि प्रकाश दिप्साली राई रहेका थिए । उनीहरूलाई नगद रु १७ हजार ५ सयसहित सम्मान गरिएको थियो । यसै गरि प्रतिष्ठान १२ वर्ष पुगेको पावन अवसरमा स्थापनाकालमा आयोजना गरिएको कविता प्रतियोगिताका विजेता प्रतियोगी हेमा छाङ्छा राईलाई नगद रु ९ हजार ९ सय उनान्सय रुपैयाँसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रमको अन्तमा हतुवागढी सिर्जना उत्सव अन्तरगत विभिन्न कवि तथा गजलकारहरुले आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कवि चन्द्र राई तारा, राम वालाहाङ राई, बलराम राई, दुर्गा बस्नेत, अल्पभाषी निरु, मनफुला राई गजलकारहरु एल बि प्रधान, प्रतीक्षा बान्तावा लगायतले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि हतुवागढी गाउँ पालिका अध्यक्ष प्रेमकुमार राईले हतुवागढी साहित्यकारहरुको जमघट हुने थलो बन्दै गएको बताए । हामीले केही गरे जस्तो देखिए पनि भने जस्तो काम गर्न सकिरहेका छैनौं । हामीसङ्ग कला र साहित्यसबन्धि गर्नुपर्ने योजनाहरु प्रशस्त छन्, यहाँ सम्भावनाहरु पनि उत्तिकै छन् तर यद्यपि भने जस्तो र सोचे जस्तो काम गर्न सकिरहेका छैनौं । तर अलि अलि भए पनि गरिरहेका छौँ । र निरन्तर गरिरहने छौँ । भौतिक विकासभन्दा अलि पर रहेर यस्तो कार्यक्रममा रहँदा फ्रेस भएको महसुस हुन्छ ।“

कार्यक्रमलाई प्रतिष्ठानका सचिव अर्जुन अपहेलित राईले संचालन गरेका थिए भने कार्यक्रमका सभाध्यक्ष विश्वजित चाम्लिङ रहेका थिए ।