November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान समर्पण समारोह सम्पन्न

895

सुनसरी । यो वर्षको स्वर्णिम साहित्य पुरस्कार–२०८२ साहित्यकार एवम उत्तरवर्ती सोचका प्रवर्तक पाचथरका सगुन सुसारालाई समर्पण गरिएको छ ।

गत शनिबार बराहक्षेत्र नगरपालिका वार्ड नम्बर–५ को सभाहलमा सो पुरस्कार हस्तान्तरण गरिएको हो । सुसारालाई नगद रु. ५० हजार १ सय एकाउन्न, ट्रफी, दोसल्ला माला र फेटासहित पुरस्कृत गरिएको हो । यस्तै स्वर्णिम साहित्य सम्मान–२०८२ द्वारा बराहक्षेत्रका अग्रज साहित्यकार मान बज्राचार्यलाई सम्मान गरिएको हो । बज्राचार्यलाई नगद रु ११ हजार १ रुपैयाँ, ट्रफी, दोसल्ला र फेटासहित सम्मान गरिएको हो । पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई पूर्व सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् सांसद सुदन किरातीद्वारा सम्मान गरिएको हो । सम्मानित बज्राचार्यको जीवनी कवि वर्षा भण्डारी र पुरस्कृत व्यक्ति सुसाराको जीवनीबारे कवि राज माङ्लाकले बोलेका थिए । गत वर्ष यो पुरस्कार र सम्मान क्रमशः राम कुमार तिवारी र रुद्र दाहाललाई प्रदान गरिएको थियोे ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सांसद किरातीले साहित्य समाजको आत्मा भएको बताउदै पूर्वको साहित्यिक गतिविधि हुने थलोहरुमा बराहक्षेत्रले उचाइ चुम्दै गइरहेको बताउँदै यहाँका कविहरुले विकृति र विसङ्गतिविरुद्ध कलम चलाउन आग्रह गरे । उनले थपे “समाज परिवर्तनको संवाहक साहित्य, कला र सँस्कृति भएको भन्दै आत्मा जोगाउन सबै लाग्नुपर्दछ ।”

Advertisement

स्वर्णिम साहित्य समाज, बराहक्षेत्रले स्थापनाको १९ ओैँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व संरक्षक समेत रहेका किरातीले थपे, “परिवर्तनको एजेन्डामा लाग्दा आक्षेप, प्रत्यारोपहरू आइरहन्छन् । उनले बाँचुञ्जेल स्मृतियोग्य कृतिहरू मात्रै छाडेर जाने हुनाले मिहेनती संस्कार बसाल्नुपर्दछ ।“

कार्यक्रमलाई प्रकाश पार्दै स्वर्णिम साहित्य समाजका अध्यक्ष तथा स्वर्णिम साहित्य सम्मान÷पुरस्कार समितिका प्रवक्ता प्रकाश दिप्साली राईले स्वर्णिम साहित्य पुरस्कार तथा सम्मानको कोष पन्ध्र लाख रूपैयाँमासम्म पु¥याउने लक्ष्य रहेको बताए । उनले आगामी वर्षदेखि मातृभाषामा साहित्य पुरस्कार समेत वितरण गर्ने लक्ष्य रहेको बताए ।

सोही अवसरमा आख्यानकार श्याम सिङ्गकको तेस्रो उपन्यास ‘कोइलाखाद’ माथि पनि परिचर्चा भएको छ । कृति उपर बोल्दै कवि देवान किरातीले उपन्यासले नेपाली वाङ्मयको शब्द भण्डारमा सकारात्मक योगदान गरेको बताए । उनले उपन्यासमा यथार्थ कथा आएको र आदिवासीहरू जल, जमिन जङ्गल उपभोग गर्ने सवालमा मारमा परेको धारणा राखे ।

त्यस्तै, प्राध्यापक रमेश काफ्लेले उपन्यासले विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’ कृतिको स्मरण गराएको बताए । उनले भाषाको प्रयोग उत्कृष्ट ढंगले भएको दाबी गरे । उपन्यासकार श्याम सिङ्गकले पुस्तकमा वरपरका कथा, समस्या, दैनिकी, सामाजिक साँस्कृतिक कुरा आओेस् भन्ने हिसाबले सचेत भएर उपन्यास लेखेको जनाए । मेघालयमा पाँच पटक गरेर पाँच वर्ष बसेको र साढे चार वर्षपछि बीचमा उपन्यास लेख्न छाडेर फेरि सुरु गरेको तथ्य अगाडि ल्याए । उनले उपन्यासलाई ४० पटक पुनर्लेखनसम्म गरेको स्वीकार गरे । विमर्शलाई कवि छवि लुङ्गेली मगरले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रम संयोजक शारदा निरौला ‘शारु’ ले अध्यक्षता गरेको कार्यक्रम सचिव लक्ष्मण कटुवालले गरेका थिए । कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपमेयर नन्दकुमारी सुनुवार, वडा अध्यक्षहरू, कवि, साहित्यकार, शिक्षासेवी लगायतको उपस्थिति रहेको थियोे ।