काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई अदालतबाट अनुमति लिएर प्रहरीले आज पक्राउ गरेको हो ।
अधिकारी मन्त्री भएका बेला वैदेशिक भ्रमणको मापदण्ड पूरा नगरी जापान पुगेकोमा त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात रहेको भन्दै फिर्ता पठाएपछि नैतिक प्रश्न उठेको भन्दै अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए ।
विराटनगरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानको लागि काठमाडौं ल्याईने भएको छ । उनीसँगै जापान अध्यागमन कार्यालयबाट फर्काइएका अरु तीन जनालाई भने पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जापानबाट फर्काइएका तीनसहित उक्त प्रकरणमा पक्राउ परेका ६ जनालाई हिजो जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि ४ दिन थुनामा राख्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको छ ।
नेकपा एमालेबाट सांसद बनेका अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ । एमालेको सचिवालय बैठकले निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको थियो । अधिकारीमाथि छानबिनका लागि आवश्यक तयारी गर्नेसमेत निर्णय एमालेले गरेको थियो ।