April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

घुन्सामा हिमपात, जाडो छल्न आधा परिवारले गाउँ छाडे

5K

ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँका आधा परिवारले गाउँ छाडेका छन । गाउँमा हिमपात शुरु भएसँगै उनीहरुले गाउँ छाडेका हुन । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौं आइपुगेका छन ।

चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेका छन भने एक परिवार इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा २८ घर परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताए । बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा बाँकी रहेका छन ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो । घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ । प्रत्येक वर्षको पुस, माघ र फागुन गरी तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ ।

Advertisement

हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ । तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको शेर्पाले बताए ।

हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजङ्घा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर रहेको छ । यस वर्ष कोरोनाका कारण कञ्चनजङ्घामा पर्यटक आउन सकेनन् । पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको टासी तेन्जी शेर्पाले बताए ।