March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

दाजु गुरुङको कृति निरजोयामाथि इटहरीमा परिचर्चा

2.1K

इटहरी । सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश शाखाले दाजु गुरुङको नविनतम कृति ‘निरजोया’ माथिको परिचर्चा र प्रतिनिधि रचना वाचन कार्यक्रममा इटहरीमा शनिबार सम्पन्न भएको छ ।

दाजु गुरुङ हङकङमा रहेर नेपाली साहित्यमा लागिपरेका व्यक्ति हुन् । उनको टाँकी फूलहरु (कथा सङ्ग्रह), लाइसी (कथासङ्ग्रह) प्रकाशन भएका छन् । निरजोया पछिल्लो कृति हो भने उपन्यासको रुपमा पहिलो हो । महेन्द्र बहुमुखी क्याम्पस, धरानका स्ववियू सभापतिसमेत रहिसकेका दाजु गुरुङ वरुण बहुमुखी क्याम्पस, संखुवासभाका पूर्व क्याम्पस प्रमुख पनि हुन् ।

इटहरीस्थीत दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा पत्रकार भोजराज श्रेष्ठ, डा.दिवाकर रेग्मी र बाबुराम खड्काले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए । पुस्तकले मलेसिया गएर घर परिवार बिर्सेको व्यक्तिमाथि चित्रण गरेको कथा बोलेको र वैदेशिक रोजगारीमा रहँदा हुने दुःख हैरानीलाई समेटेको वक्ताहरुको भनाई थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले डायास्पोरा ३ प्रकारको हुने बताएका थिए । ओल्ड डायस्पोरा, न्यू डायास्पोरा र लेवर डायास्पोरा रहेको बताउँदै वैदेशिक रोजगारीमा जाँदाको अनुभूतिलाई समेटिएर लेखिने साहित्यलाई लेवर डायास्पोरा रहेको बताएका थिए ।

सगरमाथा साहित्य प्रतिष्ठान, प्रदेश शाखाका सहसचिव अभिमन्यु अभिजित र सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रीय कमिटी संरक्षक विवेक दुलाल क्षेत्री, नेपाल शाखा संरक्षक जीपी तिवारीले संस्थाको स्थापना र गतिविधिबारे जानकारी गराएका थिए ।

रचना बाचन पनि रहेको कार्यक्रममा कवि देवान किराती, कविता केसरी, पदमकुमार लुङ्गेली, नयन अधिकारी, रगेन्द्र कोइरालाले आफ्ना रचना सुनाएका थिए । त्यसैगरी साहित्यकार सुविद गुरागाइँले इटहरीको साहित्यिक पृष्ठभूमिबारे संक्षेपमा बताएका थिए ।

कार्यक्रम कोशी प्रदेश कमिटीका अध्यक्ष मिश्रा गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।