विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक
खापुङले बुधबार कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेका हुन् ।
खापुङ गृह मन्त्रालयको पुष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका हुन् ।
पदभार ग्रहण पश्चात प्रमुख खापुङले प्रहरी कर्मचारीहरुलाई आचरण र व्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्मेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।
२०५० सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका खापुङले यसअघि अपराध महाशाखा केरकारमा पनि प्रहरी निरिक्षक भएर कार्यभार सम्हालिसकेका छन् ।
२०६४ मा डिएसपीमा बढुवा भएका खापुङले काठमाडौंमा विभिन्न वडागत युनिटहरुमा पनि सेवा प्रदान गरिसकेका छन् । खापुङ २०७४ सालमा एसपीमा बढुवा भएका थिए भने २०७७ सालमा एसएसपी बनेका थिए ।
गत वैशाखमा डिआइजीमा बढुवा भएका खापुङ गीतकारसमेत हुन् ।
खापुङको पदभार कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका अन्य सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका जिल्ला प्रहरी प्रमुख र यस कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।