November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

विजयादशमी तथा दिपावलीको अवसरमा आयोजित कविता प्रतियोगितामा दीपा मग्राती प्रथम

1.5K

धरान । बिजयादशमी तथा दिपावलीको अवसरमा बराहक्षेत्र नगरपालिका वडा नम्बर -७ द्वारा आयोजित कविता प्रतियोगितामा दीपा मग्रातीको ‘हुरी’ कविता प्रथम भएको छ । यसैगरी प्रतियोगितामा वर्षा भण्डारी, युजिना श्रेष्ठ र पुष्पा बोगटी क्रमशः दोस्रो तेस्रो र सान्त्वना बन्न सफल भएका छन् ।

क्सकविता प्रतियोगिताको निर्णायकमा कवि तथा प्राध्यापक प्रल्हाद पहरेदार, प्राध्यापक इन्दिरा महर्षी र कवि प्रकाश दिप्साली रहेका थिए ।

सोही अवसरमा ‘पोएट आइडल १२’ सम्म पुग्न सफल छबिना लुङ्गेली मगर र स्वर्णिम साहित्य समाज बराहक्षेत्र -३ द्वारा आयोजित ‘स्कुलमा कविता’ का विजेता आर्यन निरौलालाई आफ्नो वडाको नामलाई साहित्य र सिर्जनाको माध्यमले पवित्र बनाएको भन्दै खदा माला, सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी राई र बराहक्षेत्र – ७ का वडाअध्यक्षले संयुक्त रुपमा सम्मान गरेका थिए।

Advertisement

सम्मान पश्चात आफ्ना कुरा राख्दै कवि छबिना लुङ्गेली मगरले आफूहरू बराहक्षेत्रलाई साहित्यको पवित्रभूमिको रुपमा सुवासिलो बनाउन लागिपरेको बताइन् । साथै कला र साहित्यप्रति बराहक्षेत्र नगरपालिकाको नजर फराकिलो बनाउनु पर्ने पनि बताइन् ।

कार्यक्रममा विभिन्न राजनीति दल, समाजसेवी तथा शिक्षासेवीहरुले शुभकामना मन्तव्य राखेका थिए । सोही क्रममा बराहक्षेत्र नगरपालिका वार्ड नम्बर – ७ का वडाअध्यक्ष कपिल आचार्यले कला र साहित्यको निम्ति सात नम्बर वडा सदा समर्पित रहेको बताए । आफ्नो वडाका श्रष्टाहरुलाई सम्मान पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले अहिले हेर्दा बराहक्षेत्र नगरपालिकाले साहित्यमा केही नगरे जस्तो देखिएता पनि चाडै नै कला र साहित्य प्रति समर्पित कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने “हामीले कला र साहित्यको बजेट सुरक्षित राखेका छौँ । हामी चाडै नै भव्य साहित्य प्रती समर्पित कार्यक्रम गर्नेछौँ ।”

कवि सविता फागो चोङबाङले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य मेघराज राईले राखेका थिए भने कार्यक्रमा सभाध्यक्ष सो कार्यक्रमका संयोजक वडासदस्य मेनुका लिम्बु रहेकी थिइन् ।