April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

झरी र बादलसँगै गुञ्जिए दिप्सालीका कविताहरू

2.1K

विद्यार्थीहरूलाई सिकाउनु भन्दा पनि उनीहरूसँग धेरै सिक्छु- कवि दिप्साली

“तिमी हिड्ने बाटाहरू यस्तो हुनुपर्यो
प्रत्येक पाइलामा
पारिजातको तोरीबारी भेटिनुपर्छ
लेकैभरी फुल्ने रातै लालीगुराँस
चिनीचम्पा, लालुपाते अनि
तराइका सुनौला फाँटहरूमा
मयुरहरू रमाइ रमाइ नाचेको भेटियोहोस् ।”

अघिल्लो रातबाटै एक तमासको झरी । शनिबार त झन् एकाबिहानैदेखि असोजे झरी परि नै रह्यो । जति दिन छिप्पियो उति झरीले वेग बढायो । तर बराहक्षेत्रको सिद्धार्थ मेमोरियल इ. स्कुलमा मध्यान्ह १२ बजेतिर माथिका जस्तै विद्यार्थीसँग केन्द्रित कविता गुञ्जिरहे ।

संयोग थियो राष्ट्रिय कविता महोत्सवका पुरस्कृत कवि ‘प्रकाश दिप्साली राई’को सम्मान तथा एकल कविता वाचन कार्यक्रमको ।

Advertisement

सिद्धार्थ मेमोरियल इ. स्कुलबाट प्रकाशित कलम बाल भित्ते पत्रिकाले राष्ट्रिय कविता महोत्सव –२०८० मा पुरस्कृत आफ्ना गुरुलाई सम्मान गर्दै एकल कविता सुन्ने चाजोपाजो मिलाएको थियो । आफ्नो गुरुलाई सम्मान गर्दै गुरुका कविताहरू सुन्न कोही भिज्दै आए, कोही छाता ओढ्दै आए, घर नजिक हुने प्लाष्टिकको घुम ओढेरै आए ।

बाहिर पानी परि नै रह्यो । सिद्धार्थ मेमोरियल इ. स्कुलको सभाहलभित्र उस्तै खाले कविता गुञ्जिनै रह्यो । राष्ट्रिय कविता महोत्सव– २०८० मा पुरस्कृत कवि प्रकाश दिप्साली राईलाई कलम पत्रिकाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि सोही विद्यालयका सहप्रधानाध्यापक गणेश थापाले दोसल्ला ओढाएर सम्मान गरे पश्चात् दिप्सालीले बाल कविताहरू सुनाए । ‘हाम्रा कविताहरू’, ‘बिचरा ठुले’, ‘दमिनी बज्यै’, ‘बूढो माझी’, ‘केटाकेटीको खेल’ कविताहरू सुनाए भने उनलाई ‘तिमीले हिड्ने बाटाहरू’ शीर्षकको कवितालाई बाल कवि परिसा कटुवालले वाचन गरेर सघाएका थिए । कविता सुनाउने क्रममा कवि दिप्सालीले श्रम र सीपसँग सम्बन्धित कविता पनि सुनाए ।
“तर ठुले !
भोको पेटलाई पटुका कसी
अभावसँग पलपल संघर्ष गरी
त्यही मालिकको इखले
सुनौलो बिहानी देख्छ
हलो जुवा हसिया र हतौडाले ईतिहास लेख्छ
शोषित पीडितको हितका निम्ति
खुनको कुलेसो बगाउन तयार छ ।”

उनले कविता मात्र सुनाएनन्, आफ्ना अध्यापनका आरोह अवरोह अनि विद्यार्थीहरूसँग बिताएका पलहरू सम्झे “मैले कहिल्यै पनि विद्यार्थीहरूलाई सिकाइन मात्र उनीहरूबाट पनि मैले धेरै कुराहरू सिकेँ । सिकाइ त दोहोरो हुँदो रहेछ । आजपनि म विद्यार्थीहरूसँग सिकिरहेको छु । सबैभन्दा आनन्दको समय विद्यार्थीहरूसँग रमाउदा लाग्छ । विद्यार्थी जीवन सबैभन्दा उत्तम अनि महत्वपूर्ण क्षण हो । यो समयलाई यादगार बनाउँदै आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्नु । नानीहरू ! यो झरी नभनी कार्यक्रमको आयोजना गरिदियौ, भिज्दै, रुझ्दै कविता सुन्न आइदियौ । मेरा कविता लेखनको श्रोतहरू तिमीहरू पनि हौ । त्यही भएर हुनुपर्छ तिमीहरूलाई सपनामा पनि प्राय देख्ने गर्छु । तिमीहरूसँग उठबस गर्ने क्रमको यो आजको दिन जीवनकै रमाइलो पलको रुपमा लिएको छु ।“

उनले कविता वाचनको बिट भने आफ्नो शिक्षण पेसासँग सम्बन्धित ‘बूढो माझी’ शीर्षकको कविताबाट मारे ।

“तर
आज तिमीहरू चढ्ने डुङ्गा सुनसान जस्तै छ
आकाशमा हवाईजहाज उड्छ
सोच्छु त्यो आकशमा उड्ने त्यही लाहुरे मङ्गले नै हुनुपर्छ,
एम्बुलेन्सको साइरन घरी घरी कानमा ठोक्किदा
लाग्छ त्यो एम्बुलेन्सले बोकेको बिरामी
डा. खान्नुहाङसम्म पुग्छ र जाती भएर घर फिर्छ
दर्जानी चिन्ह सहित बढुवा भएको खबर
रेडियोले सुनाउँदा लाग्छ –
पक्कै पनि त्यही काले हुनुपर्छ भन्ने ठहर गर्छु
किनकी कुनै दिन मलाई उनले रुँदै भनेको थियो
“सर ! आइन्दा म कहिल्यै चोर्दिन
बरु चोर्नेलाई समात्ने पुलिस अफिसर बन्छु ।“
यो कविता सुनाउँदा उनी निक्कै भावुक बनेका थिए ।

कविता वाचनको मेसो समाप्ति पश्चात् कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सहप्रधानाध्यापक गणेश थापाले आफ्ना विद्यार्थी भाइबहिनीहरूको यस्ता कार्यक्रमले आफू अत्यन्तै खुसी रहेको बताए । किताबी ज्ञानसँगै यस्ता व्यवहारिक ज्ञान पाउनु नै सिकाईको उपलब्धी रहेको बताए । सो कार्यक्रममा स्कुल भाइस क्याप्टेन इशा खड्का, स्टोन आर्ट दीपा मग्राती, प्राध्यापक भरत विष्टले समेत मन्तव्य राखेका थिए ।

कलम बाल भित्ते पत्रिकाका सम्पादक रोनिक विष्टको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुजल चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सो पत्रिकाका सम्पादक आशिका राजधामीले गरे ।