विराटनगर । समाजवादी मोर्चाले भदौ २५ गते प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा सन्देश सभा आयोजनासहित शक्ति प्रदर्शन गर्ने भएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह सम्मिलित समाजवादी मोर्चाले सन्देश सभाको आयोजना गर्ने भएको हो । सभामा १४ जिल्लाका चार हजार भन्दा बढी अगुवा कार्यकर्ता सहभागी गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।
बिराटनगरमा हुने सन्देश सभामा चारै दलले एक–एक हजार अगुवा कार्यकर्ता उतार्ने गरी गृहकार्य भइरहेको बताइएको छ । भदौ २५ गते सोमबार दिनको १२ः१५ बजेबाट मोर्चाको प्रदेशस्तरीय सन्देश सभा विराटनगरको होटल मनास्लुमा हुने छ ।
व्यापक प्रचारप्रसार र जनसहभागीता जुटाउन प्रदेश राजधानी विराटनगरसहित मोरङ, सुनसरी र झापा जिल्लाका पार्टी समितिहरुलाई निर्देशन गर्ने मोर्चाको तयारी छ ।
बुधबार सन्देश सभा कार्यक्रमको तयारी बारे जसपा प्रदेश पार्टी कार्यालय इटहरीमा मोर्चाको बैठक समेत बसेको थियो । बैठकले मातहतका पार्टी समितिहरुलाई कार्यक्रम सफल पार्न क्रियाशील भएर लाग्न आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।