विराटनगर । संखुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका एक मजदुरको शव २९ दिनपछि फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिनापछि एउटा शव फेला परेको हो ।
प्रहरीका अनुसार आइतबार चैनपुर नगरपालिका–४ मा सुपर हेवा हाइड्रोपावरको कम्पाउन्डमा पुरुषको शव फेला परेको छ । तर, शवको पहिचान भने खुलेको छैन ।
गएको असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए । बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए । तीमध्ये २ जनाको शव हालसम्म फेला परिसकेको छ ।
बाढीपहिरोमा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो ।