विराटनगर । जनता समाजवादी पार्टी (जसपा) प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपा प्रदेश १ का अध्यक्ष दिपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् ।
कोशी नामाकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, कोशी प्रदेश नामाकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको पुनः नामकरण गर्नुपर्ने जसपाले माग राखेको छ ।
जसपाले निरन्तर संघीयता र पहिचानको निम्ति पहिचानसहितको संघीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसंघर्ष नै प्रमुख साधन हो भन्ने मन्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट संघर्ष चलाइरहेको जसपाले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले पनि यसअघिनै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने बरु आफ्नै नेतृत्वको सरकार बनाउने पहल गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ । माओवादी केन्द्र र जसपासहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई यी दुवै पार्टीले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको हो ।
आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ ।