April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरको कुम्मायक माङ्हिममा ऐतिहासिक सप्ताह

पदम सुखी सम्बाहाम्फे
२०७९ फाल्गुन १२

3.3K

कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकास्थित माङ्हिममा ऐतिहासिक सप्ताह पूजा सम्पन्न भएको छ । करिब १७ सय मिटर अग्लो स्थानमा अवस्थित कुम्मायक डाँडामा विश्व शान्ति मानव एकता सप्ताह सेवा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

किराँत सावायेत्हाङ थिबोङ् याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक नु माङहुप वाःदेम्मा सेवा समिति माङ्सेबुङ तथा कुम्मायक उपसमितिद्वारा आयोजित उक्त सेवा कार्यक्रमको किरात धर्म गुरु आत्मानन्द लिङदेन सेइङ र गुरुआमा पवित्राहाङमा लिङदेनले गत फागुन ५ गते उद्घाटन गरेका थिए ।

माङ्हिमको सप्ताह पुजामा सिक्किम दार्जिलिङ भुटान लगायत पूर्वका विभिन्न जिल्लाका लाखौं श्रद्धालु भक्तजनहरू उपस्थित भएको विश्व शान्ति मानव एकता सेवा उपसमितिका संयोजक भवानी सम्बाहाम्फेले बताए । कार्यक्रममा समाजसेवी तथा १ सय बर्षीय दलबहादुर चेम्जोङ्को पनि उपस्थिति रहेको थियो । कुम्मायक माङ्हिम यासोक, रानिगाउँ र स्यावरुम्बा गरी ३ वटा वडाहरुको संगमस्थलको शिरमा पर्दछ ।

Advertisement

यश अघि आठराई गाउँपालिका र हिलिहाङ गाउँपालिकाको संगमस्थल नक्कलेघाट र तमोर नदिको किनार लगायत पान्थरको फेदेनस्थित सुम्हात्लुङ आम्बे पःजमा नाम्धुङ लाधुङ सेमि सेवा सम्पन्न भइसकेको बताइएको छ । यसैगरी कुम्मायक कुस्सायकमा फागुन ५ गतेदेखि १२ गतेसम्म भएको उक्त सप्ताह पुजामा १ करोड ५० लाख १ हजार १ सय ८ नाम्धुङ लाधुङ्सेमी बात्ती बालेर इतिहासकालकै ऐतिहासिक सेवा सम्पन्न भएको छ ।

लिम्बुवान तथा गैर–लिम्बुवानवासीको पवित्र धार्मिक आस्थाको केन्द्र कुम्मायक कुस्सायक माङ्हिमको शिर उच्च राख्न किरात सावायेहाङ थिबोङ याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक सेवा समिति माङ्सेबुङको आयोजनामा भव्य र सभ्यका साथ सम्पन्न यस कार्यक्रम इतिहासमै पहिलोपटक सम्पन्न भएको स्थानीय चन्द्रप्रसाद निरौलाले बताए ।

प्राचीनकाल किराँत राजा सवायेतहाङको पालामा पनि यश स्थलमा यस्ता किसिमका पूजापाठ, सभासम्मेलन, गोष्ठी आयोजना हुने गरेको किंवदन्तीहरु सुनिएको स्थानीयहरुको भनाइ छ ।

पुजा समापन कार्यक्रममा आशीर्वचन व्यक्त गर्दै गुरु आत्मानन्द लिङ्देन र पवित्राहाङमा सावा लिङ्देनले किरात सावायेत्हाङ विश्व शान्ति मानव एकताको लागि हाङ चोत्लुङ माङचोत्लुङप्रति सधैं सकारात्मक सोच राख्नुपर्ने बताए । गुरु लिङ्देनले कुम्मायक गाउँपालिकाको प्राविधिक सहयोगप्रति विशेष आभार व्यक्त गरेका थिए ।

समापन समारोहमा कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती, उपाध्यक्ष महेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो वडा नं. १ का वडाअध्यक्ष देवेन्द्र लावती वडा न, ५ का वडाअध्यक्ष निर्मल घिमिरे र कुम्मायक कुस्सायक क्षेत्र विकास समितिका अध्यक्ष जकेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।

कुम्मायक देवस्थलको क्षेत्र परिसरमा नियमित बिजुली प्रवाहका साथै स्वच्छ पिउने पानी र हेलिप्याडको निर्माण गरी आर्थिक बर्षमा पर्यटकीय क्षेत्र घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष बम लावती र उपाध्यक्ष महेन्द्र खड्काले बताए ।

बृहत सप्ताह समापन कार्यक्रम भएको हुँदा शुक्रबार गाउँपालिकाको सम्पूर्ण कार्यलयमा सार्वजनिक विदा दिइएको थियो ।