गम्बु शेर्पा ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन् । उनी लामो समय अमेरिका बसेका र त्यहाँको सम्मानित नागरिकतासमेत त्यागेर नेपाल फर्की जनता समाजवादी पार्टीमा आवद्ध भएका थिए । जनता समाजवादी पार्टीको प्रदेश नं. १ कमिटिको सदस्य रहेर काम गरिरहेकै बेला उनले खिजीदेम्बा गाउँको लागि पनि खटिरहे । उनको खटाईलाई स्थानीय निर्वाचनको लागि समेत हेरिएको थियो । नभन्दै उनले खिजीदेम्बाको अध्यक्षको टिकट पाएर निर्वाचित भए । धरानका मेयर हर्क साम्पाङले जनसहभागितामा ढुंगा बोकिरहँदा गम्बुले पनि गाउँको विकासको लागि बोकेका थिए । तर उनको चर्चा भएन ।
गायकसमेत रहेका गम्बुले सन् २०२१ मा ‘फर्किएका पाइला’ पुस्तक लेखेका छन् । धेरै देश तथा नेपालका विभिन्न ठाउँमा कन्सर्टमा सहभागी भएका छन् । उनको राजनीतिक क्रम, समाजसेवा र जनप्रतिनिधिलाई समेटेर गरिएको फोनवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
तपाईलाई राजनीति गर्न के ले आकर्षित गर्यो ?
राजनीति मैले विद्यार्थीकालदेखि नै गरेको हुँ । जब मैले हामी सबैमा राजनीतिक चेत हुनुपर्छ भन्ने बुझेँ त्यसपछि विद्यार्थीकालबाटै म राजनीतिसँग नजिक भएको हो ।
शेर्पा जाति त बढिजसो ट्रेकिङ तथा अन्य व्यावसायमै भेटिन्छन् नि ?
शेर्पा भएर यता किन भन्ने प्रश्न निकै आउँछन् । शेर्पा भएपछि हिमाल नै चढ्नुपर्छ, ट्रेकिङ व्यावसायमा रमाउनुपर्छ भन्ने मान्छेहरुको सोच छ । तर त्यसै हुनुपर्छ भन्ने त छैन नि । अहिले त सबै मानिस सबै पेशा, व्यावसायमा हुनुपर्छ । मैले पनि ट्रक व्यावसाय गरेको थिएँ । शेर्पा भएर फलामको काम किन गरेको भन्नेहरु पनि धेरै निस्किए ।
अहिले पनि तपाई पेशा चलाइरहनुभएको छ ?
मैले देम्बा भ्यू पोइन्ट रिसोर्ट, थ्रिजी साउण्ड स्टुडियो, अर्गानिक फुड एण्ड मार्ट तथा नेपाल टेक ग्रुप प्रालि चलाइरहेको छु । नेपालटेकमार्फत रेडियो ओखलढुङ्गा र रेडियो ओखलढुङ्गा डटकम अनलाइन सञ्चालित छ ।
विद्यार्थीकालमा राजनीति गर्नुभयो, त्यसपछि व्यावसाय हुँदै अमेरिकासम्म पुग्नुभयो । जीवनयात्रा त तरलतामा दौडिएकोजस्तो छ नि ?
हामी शेर्पाहरु हिमालबाट सहरमा झरेकोले आर्थिक अवस्थामा संकट आइपरेपछि परदेशीनु परेको हो । युवा अवस्थाको निर्णय पनि थियो । पैसा कमाएर राजनीति गर्छु भन्ने सोचले अमेरिका गएको हैन । म पहिला नै राजनीतिमा आवद्ध थिएँ । मैले मजदुर क्षेत्रको संगठनमा चुनाव नै जितेको थिएँ ।
अमेरिकाको सम्मानित नागरिकता त्यागेर नेपाल फर्केपछि जनता समाजवादी पार्टीजस्तो सानो पार्टी किन रोज्नुभयो ?
ठूलो पार्टीको पछाडि लाग्दैमा केही हुने होइन । विशेष त मुलुकमा रहेका पार्टीहरुले यतिका लामो समयसम्म कुनै ठोस परिवर्तन गरेको देखिनँ । त्यसैले पनि वैकल्पिक शक्तिको रुपमा आएको पार्टी जसपालाई रोजेको हुँ । मैले राजनैतिक पार्टीहरुको अध्ययन गरेँ । ठूलो जमात र भीडलाई मैले रोजिनँ, पार्टीले उठाएको मुद्दालाई हेरेँ । र, जनता समाजवादी पार्टीलाई रोजको हुँ । जनता समाजवादी पार्टी पक्कै सानो पार्टी होइन । मैले हिजो ठूलो पार्टीमै रहेर काम गरेको मान्छे हुँ ।
अमेरिकामा सम्मानित नागरिकता पाइसक्नुरहेको रहेछ, कसरी पाइन्छ त्यो नागरिकता ?
मैले अमेरिकामा ‘एक्स्ट्र अर्डिनरी सिटिजनशीप’ भन्छ, त्यो पाएर बसेको हुँ । जुन त्यो देशको लागि सम्मानित नागरिकता हो । गायन, लेखनलगायतका कामबाट मैले उक्त नागरिकता पाएको हुँ । लामो समय अमेरिकामा बसेँ, तर त्यहाँ कुनै करछली गरेको छैन । सरकारको विश्वासपात्र बनेको थिएँ । मैले त्यहाँको नागरिकता त्याग्दा पनि कानुनी प्रक्रिया पुर्याएर छोडेको हुँ । त्यसैले म एकदमै क्लियर मानिस हुँ । मानिस भएपछि इमान्दार बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।
अमेरिका रहँदा मैले केही कमाएँ । त्यो मेरो परिवार, श्रीमतीको लागि राम्रो बाटो बन्यो । उनीहरु सुरक्षित भएपछि म उमेरहुँदै केही गरौं भनेर नेपाल फर्केको हुँ ।
विदेश पुगेपछि त उतैको नागरिक बनेर बस्न चाहन्छन्, तर तपाई त त्यागेरै आउनुभयो, किन ?
मैले पहिलेदेखि नै नेपालमा केही गर्न खोजिरहेको बारे मेरो श्रीमती पनि जानकार थिइन् । उताको विकासलाई मैले नजिकबाट हेरेँ । बुझेँ, त्यसलाई नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने मेरो मनमा हुटहुटी जाग्यो । एउटा व्यक्तिले चाह्यो भने धेरै कुरा हुनसक्छ । यसमा मैले कायापलट गर्ने भन्न खोजेको होइन । मैले त एउटा इँटा थप्न मात्र खोजेको हुँ । यो भन्दा अगाडि नै म राजनीतिमा आउन सक्थेँ, तर कसैको श्रीमान, बुबा भएको नाताले निकै पछिमात्र यसरी खुलेर आएको हुँ ।
गायन पेशामा पनि चर्चित भइसक्नुभएको रहेछ, यसको पृष्ठभूमि बताइदिनुस् न ?
गीत सानैदेखि गुनगुनाउने बानी थियो । गाउँको छहराछाँगा, भीरपाखाहरुले गर्दा गीत आफसेआफ बन्थ्यो, रचिन्थ्यो । त्यसैलाई पछि रेकर्ड गरियो । गायक बनियो । पछि त गायकको रुपमा धेरै कन्सर्टहरुमा पुग्ने गाउने गर्न थालियो । एक समय यस्तो मात्रै समय आयो कि म अरु केही होइन, गायक गम्बु शेर्पा मात्र हुँ ।
खुशी भए पनि दुःखी भएपनि पोख्ने माध्यम भनेको गीतसंगीत नै हो । तसर्थ मैले एक समय राम्रै गायक भइदिएँ । मैले सन् १९९८ सालमा पहिलोपटक गीत रेकर्ड गरेको हुँ । लोक, पप, सेलो सबै खालको गीतहरु गाएको छु । यसै हप्ता पनि मेरो नयाँ गीत रेकर्ड हुँदैछ । फूटबलको राष्ट्रिय गीत, सोलुखुम्बु, इलामलगायतका जिल्लाहरुको राष्ट्रिय गीतमा मेरो आवाज सुन्न सक्नुहुनेछ । समयले भ्याएसम्म गीतसंगीतको काम गर्नेछु ।
तपाईको पुस्तक अध्ययन गर्दा धेरै आरोहअवरोह पार गर्नुभएको देखिन्छ । सानै उमेरमा कसरी भ्याउनुभयो ?
मान्छेको जीवनमा विभिन्न आरोहअवरोहहरु आउँछन् । आरोहअवरोह कुन उमेरदेखि शुरु हुने भन्ने नै मुख्य कुरा रहेछ । सानै उमेरमा आमाको स्वर्गारोहण भएपछि बुबा र मेरो काँधमा सारा घरको जिम्मेवारी आइपरेको हो । जिम्मेवारी वहन गर्दा धेरै सिकिने रहेछ । जस्तो मैले क्याम्पस पढ्न पाइनँ भन्ने कुरा दुःख थियो, तर व्यावहारले गर्दा पढेबराबर भइयो । यी सबै कुराहरु मेरो पुस्तक फर्किएका पाइलामा समेटेको छु ।
खिजीदेम्बामा उम्मेद्वारी दिँदै गर्दा विजेता बन्छु भन्ने नै लागेर होमिनुभएको थियो ?
हार्छु भनेर कहिल्यै चुनावमा उठ्दैन । जित्छु भनेरै उठेको हुँ । मेरो पार्टीले उठाएको मुद्धालाई जनतासमक्ष पुर्याउँछु भनेर होमिएको थिएँ । पार्टीको स्थिति गाउँमा कमजोर थियो । तसर्थ यसैपल्ट पार्टीको कुरालाई पुर्याउन नपाए पनि अर्कोपटकचाहीँ पुर्याउँछु भन्ने नै थियो ।
विजेता बन्दै गर्दा सोच्नुभएको र अहिले १०० दिन काट्दै गर्दामा के फरक पाउनुभयो ?
यदि हामीले चाहेको खण्डमा थोरै बजेटमा धेरै काम गर्न सकिन्छ । त्यसको उदाहरण मेरो काम पनि हो । यो १०० दिनमा मैले २३ वटा काम गरेको छु । कतिपय सानातिना कामहरु त मैले नोट गरेकै छैन । मलाई लाग्छ, यो १०० दिनमा काम गरिने भन्दा ५० गुणा बढी मैले काम गरेको छु । यहि हिसाबले मैले काम गर्ने हो भने मैले काम गर्ने दिन १५८५ दिन हुन्छ । यति दिनमा कम्तिमा ७ हजार माथि काम हुन्छ । यति धेरै काम गर्न आवश्यक छैन । मैले चुनावमा भोट मागिरहँदा जनतालाई ५ वर्षभित्रमा साना ठूला गाडीहरु बाहै महिना चल्ने सडक र युवाहरुलाई गाउँ फर्काउ अभियान सुरु गर्ने, बाँझो जग्गालाई कृषि योग्य बनाउने, प्रकृति योग्य बनाएर बजार व्यावस्थापन गरी प्रत्येक दिदिबहीनीले मासिक आयाआर्जन गर्न सक्ने बनाउछु भन्ने प्रतिवद्धता गरेको छु । स्वास्थ्य शिक्षा त भइहाल्यो । त्यसका लागि विकासको कामहरु अगाडि बढिसकेको छ । यो ५ वर्षमा यी सबै कामहरु गर्न सक्छु भन्नेमा म ढुक्क छु ।
१०० दिनको अवसरमा कार्यक्रम सार्वजनिक पनि गर्नुभयो, त्यसमा खास कुरा के के छन् ?
भौतिक पुर्वाधार, शिक्षा, खानेपानी लगायतमा काम गरेको छु । अहिले बर्खाको समयमा पनि बाटो बन्द भएन । आवत जावतमा समस्या छैन । एम्बुलेन्स ल्याएर जनतालाई सेवा दिएको छु, त्यसमा पनि डेलिभरीको समयमा महिला दिदिबहीनीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा दिने गरेको छु । यस्ता केसमा अहिलेसम्म नराम्रो समाचार सुन्नुपरेको छैन, यसमा म भाग्यमानी अनुभुत गर्छु । खानेपानीको डिपिआर भइसकेको छ । जे होस् ५ वर्षमा यति काम गर्छु भनेर मैले जनतासामु गरेको प्रतिवद्धता अनुसार जम्मा ३ वर्षमा हुने काम मैले यो १०० दिनमा गरिसकेँ ।
धरानका मेयरले जनसहकार्यको अभियान चलाइरहेका छन् र जनताले साथ पनि दिइरहेका छन्, तपाईको फेसबुक हेर्दा त्यसैगरी नै जनसहभागीतामा काम गरिरहनुभएको देखिन्छ, तर तपाईको कार्य ओझेल परेको छ नि ?
धरान र काठमाडौंका मेयरले जसरी काम गरिरहुनुभएको छ, त्यसमा म खुशी छु । यद्यपी मिडियाले पनि सुगम ठाउँ नै खोज्ने रहेछ । यो स्वभाविक पनि हो । अर्को कुरा म आफै पनि मेरो समाचार सम्प्रेषण गरिदिनुहोस् भन्ने स्वभावको छुइनँ । यो २८ वर्षको सार्वजनिक जीवनमा म यस्तो मान्छे हो भनेर कहिल्यै आफ्नो परिचय दिन चाहिनँ । त्यसो गर्नु मलाई खास ठिक पनि लाग्दैन । मिडियाबाजी गर्नुभन्दा पनि आफ्नो कामले आफैलाई सन्तुष्ट दिनुपर्छ भन्ने मान्यता राख्छु । मेरा पत्रकार साथिहरु धेरै भएतापनि मैले कहिल्यै आफ्नाबारे समाचार लेख्नु भनिनँ । देशको चौथो अंग पत्रकारले खोज्नुपर्छ । आफ्नो टेवलमा आएको समाचारलाई मात्रै प्राथमिकता दिनुहुँदैन भन्ने मेरो बुझाइ छ । कतिपय साथीहरुले गाली पनि गर्नुहुन्छ, मान्छेहरुले गर्दै नगरेको कामको चर्चा गर्छन्, तिमी गरेको कामलाई पनि देखाउदैनौं भन्छन् । अर्को कुरा हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर हुनुहुन्छ । धरान शिक्षित व्यक्तिहरु बस्ने ठाउँ पनि हो । साथै, भौगोलिक बनावट, कामको प्रकृति अनुसार धरान, काठमाडौं र खिजीदेम्बाको काममा फरक पर्छ । पहाडका गाउँपालिकाको तुलनामा धरान, काठमाडौंका कामहरु सिमित छन्, त्यसैले काम गर्न अलिक सजिलो पनि हुन्छ ।
भर्खरै निर्वाचित हुनभएको छ, ५ वर्षभित्र खिजीदेम्बालाई कस्तो बनाएर छोड्ने प्रतिवद्धता राख्नुभएको छ ?
खिजिदिम्बामा म यसरी काम गर्न चाहन्छु कि यसका आसपासका गाउँपालिका र जिल्लाहरुलाई पनि उदाहरण र चुनौती बनोस् । राजनीतिमा युवाहरुको चासो बढ्नुका साथै राजनीतिलाई हेर्ने दृष्टिकोण परिवर्तन होस् ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले सार्वजनिक गरेका १०० दिनको कामहरु