November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

2.1K

विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन आग्रह गरेकी हुन्। ​

‘कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण छ,’ मन्त्री राईले भनिन्,‘ केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस्।’

कोरोनाको तेश्रो लहर सुरु हुने विज्ञहरूले बताईरहेकाले तयारीको आवस्यकता देखिएको उनको भनाइ थियो। कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यानकेन्द्रित रहेको समेत उनले बताइन्। प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनको भनाइ छ।

Advertisement

मन्त्री राईले सरकारी अस्पतालमा जनशक्ति अभाव देखिएकाले पूर्ति गर्न पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको बनाइन्। प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी दिइन्। उनले भनिन्, ‘एचडियू, आइसियू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहित विकसित अस्पताल निर्माण हुनेछ।’

विपन्न नागरिकको स्वास्थ्य उपचारमा केन्द्रित रही ‘विपन्न स्वास्थ्य कार्यक्रम’ ल्याउने योजनामा प्रदेश सरकार रहेको पनि मन्त्रीले राईले जानकारी दिइन्। भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरू, मन्त्रालयका सचिव लगायतको सहभागिता थियो।