April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुहाङ परिवार यूकेले कोरोना महामारीमा आफ्नो थातथलो सम्झे

6.2K

लण्डन । पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिका अन्तर्गत वडा न ५ सुभांङ उदगम् भई हाल बेलायतमा बसोवास गरिरहेका सुहाङ (लिम्बू) परिवारहरुले आफ्नो थातथलोमा कोरोना प्रभावितहरुलाई राहत सामग्रीहरु पठाएका छन् ।

सुहाङ परिवार यूकेको पहलकदमीमा आफ्ना सदस्यहरुबाट उठेको २ लाख २२ हजार रुपैयाँ बराबरको आर्थिक संकलनबाट अत्यावश्यक राहत सामग्री, खाद्यान्न, औषधीहरु प्रदान गरिएको हो ।

गत मंगलबार मे २५ (ज्येष्ठ ११ गते) को दिन हिलिहाङ्ग गाउँपालिका अन्तर्गत वडा न ५ का स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीबीहरु र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सुहाङ परिवार यूकेले तोकेको परिवारको स्थानीय प्रतिनिधि मार्फत राहत सामग्रीहरु वितरण गरिएको थियो ।

Advertisement

“कोरोना संक्रमणबाट बच्नको निम्ति आवश्यक स्वास्थ्य सामाग्रीहरु – मास्क, पन्जा, फेस सिल्ड, हेण्ड सनिटाइजर, हेन्ड वाश, कोभिड टेस्ट किड, सिटामोल, झाडा पखालाको औसधि, खोकीको औसधि, दमको औसधि तथा खाद्य सामग्रीहरु चामल, दाल, चना, नुन, खाने तेल, तथा आवश्यक पौस्टिक आहारहरु खरिद गरी हामीले पठाएका हौं”, सुहाङ परिवार यूकेका एक सदस्यले नेपाल मामिलालाई बताए ।

सुभाङमा कोरोना प्रभावित ४३ घर परिवारलाई टोल टोलमा छिटो, छरितो र प्रभावकारी ढंगले राहत बितरण गर्न सुहाङ परिवारका स्थानीय प्रतिनिधिहरु बिर्ख सुहाङ, नविन सुहाङ र जीवन सुहाङ प्रतक्ष रुपमा खटेका थिए ।

कोरोना महामारीको कठिन घडीमा प्रवासमा बसेर पनि आफ्नो थातथलोमा आइपरेको पिडा सम्झी यसरी महत्वपुर्ण सहयोग प्रदान गरेको भन्दै स्थानीय समुदाय, जनप्रतिनिधि तथा विभिन्न दलका प्रतिनिधिहरुले सामुहिक रुपमा बेलायतमा रहेका सुहाङ परिवारका सदस्यहरु प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।

यता सुहाङ परिवार यूकेले पनि यस पूण्य कार्यका लागि आआफ्नो तर्फबाट सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

सुहाङ परिवार यूकेले समय समयमा आफ्नो थातथलो पाँचथर जिल्लाको हिल्लिहाङ गाउँपालिकाको सुभाङमा बिभिन्न प्रकारका सहयोगहरु गर्दै आइरहेको छ ।