April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एन्टीजेन पोजिटिभ महिलाको उपचार नपाएरै मृत्यु

3.5K

विराटनगर । कोरोनाको एन्टीजेन पोजिटिभ एक महिलाको उपचार नपाएरै मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर गाइघाटकी ३५ वर्षीया जैनव खातुन रहेकी छिन् । उनलाई एन्टीजेन पोजिटिभ भएको रिपोर्ट आएपछि विराटनगरका अस्पताल ल्याइएको थियो । तर, कुनै अस्पतालले उपचार नगरी रिफर मात्रै गर्दा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

विराटनगरको अस्पताल चोकमा रहेको गोल्डेन अस्पताल पुर्याइएकी उनको त्यहाँ कोरोनाको एन्टीजेन परीक्षण भएको थियो । रिपोर्ट पोजिटिभ आएपछि गोल्डेन अस्पतालले उनको भर्ना लिन अस्वीकार गर्यो । त्यसपछि विराट मेडिकल लगेको र उसले पनि भर्ना लिन नमानेको एम्बुलेन्स चालक राजा मियाँले बताए । त्यसपछि म्याक्स अस्पतालमा लैजान खोज्दा म्याक्सले पनि नल्याउनु भन्ने जवाफ दिएको थियो ।

त्यसपछि विरामीका आफन्त कोशी अस्पताल पुगेका थिए । बिहान चार बजे कोशी अस्पताल पुगेपछि बिरामीलाई आइसोलेसन भर्ना गरियो । तर उपचार सुरु भएन । आफन्तले बिरामीलाई नोवेल अस्पताल पुर्याएका थिए । नोवेलले पनि भर्ना लिन नमानेपछि उनलाई पुनः कोशी अस्पताल पुर्याइयो । अस्पताल धाउँदाधाउँदै उनको बिहान साढे ६ बजे मृत्यु भएको थियो ।

Advertisement

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. चुमनलाल दासले बिरामीको अक्सिजन लेभल न्यून भएका कारण विरामीको मृत्यु भएको बताउनु भयाे ।