इलाम : सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ देखि ७४ वर्ष उमेरसमूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको हो ।
यसको तयारी इलामसहित देशैभर सुरु गरिएको छ । इलाममा यस चरणमा ७१ हजार जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
तत्काल १५ हजार जनालाई पुग्ने खोप आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘अहिले १७ सय भायल खोप आइसकेको छ । त्यसले १७ हजारलाई पुग्छ । ग्रामीण क्षेत्रमा १० प्रतिशत खेर गएपनि १५ हजारलाई पुग्छ’ कार्यालय वृजकुमार दासले पत्रकारहरुसँगको अन्तरक्रियामा भने, ‘भण्डारणमा समस्या भएकाले एकैपटक नल्याइएको हो, बाँकी पनि आउँछ ।’
यसपटक स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट खोप लगाइनेछ । अन्य खोपजस्तो वडावडामा गएर दिन असम्भव भएकाले स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट मात्र खोप लगाइने कार्यालयले जनाएको छ ।
कोभिड-१९ विरुद्धको दोस्रो चरणका खोपका लागि करिब ३ सय स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी कार्यालयले गरेको छ । स्वास्थ्यकर्मीको साथमा दुई जना स्वयमसेवक् समेत हुनेछन् । उनीहरुले जिल्लाका २ सय १४ वटा खोप केन्द्रबाट खोप लगाउने स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाईजर गंगाधर पण्डितले जानकारी दिए । यसैगरी यही चरणमा ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दिर्घ रोगीलाई पनि खोप लगाइनेछ । यो अभियान २७ फागुनसम्म संचालन हुनेछ ।
भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा २६ माघदेखि ३० माघसम्म फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो । पहिलो चरणको दोस्रो प्राथमिकतामा २ फागुनदेखि ८ गतेसम्म पत्रकार, सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोभिड-१९ विरुद्धको खोप दिइएको थियो ।
पहिलो चरणमा इलामका ६२ प्रतिशतले कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार २ हजार ६० जनाले कोभिड १९ रोग विरुद्धको खोप लगाएका हुन् । कार्यालयले ३ हजार ३ सय ३० जनालाई खोप लगाउने लक्ष्य भएपनि पूरा भने हुन नसकेको कार्यालय प्रमुख दासले बताए । उनका अनुसार पहिलो चरणको पहिलो प्राथमिकतामा परेका १४ सय ६५ जना र पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका २ हजार ६० जनाले खोप लगाएका छन् ।
