May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महरा र ३ मन्त्रीले लिए शपथ

1K

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका माओवादी केनद्र प्रदेश संसदीय दलका नेतासमेत रहेका महराले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनले आजै ३ जनालाई मन्त्रीसमेत नियुक्त गरेका छन् । उनले एमाले प्रदेश संसदीय दलका नेता चेतनारायण आचार्य, माओवादीका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका थिए । आचार्य यसअघि शंकर पोखरेल र लिला गिरी नेतृत्वको सरकारमा मन्त्री भईसकेका व्यक्ति हुन भने अहिर निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारका कृषिमन्त्री हुन् । पुन भने पहिलो पटक मन्त्री भएका हुन् ।

प्रदेश सभा निर्वाचनमा आचार्य अर्घाखाँची, पुन रोल्पा र अहिर बाँकेबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । पुन माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका थिए । ५ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गर्दै उनी विजयी भएका थिए ।

Advertisement

स्वतन्त्र रुपमा प्रदेश सभामा निर्वाचित पुन चौधरी सरकारमा मन्त्री बन्ने सर्तसहित माओवादीमा प्रवेश गरेका थिए । तर, उनलाई मन्त्री बन्नबाट निर्वाचनमा पराजित पुनले रोकेका थिए । तत्कालीन मुख्यमन्त्री चौधरीले पुनलाई मन्त्री नियुक्त गर्न प्रयास गरेपनि कांग्रेस नेतृत्वको दवाव थेग्न नसकेपछि उनी पछि हटेका थिए ।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिएका छन् भने बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ ।