बुटवल । सामाजिक सेवा गर्दै आएकाे संस्था ‘हेल्पिङ ह्याण्डस्’ले एक सुत्केरीलाई खाद्यान्न सहयाेग गरेकाे छ । संस्थाकाे सदस्य गंगा लिम्बुकाे संयाेजकत्वमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो ।
उनले केही सहयाेगीहरूकाे साथमा बुटवल ११ बुद्धनगरस्थित तिनाउ नदीकाे किनारमा जस्ता पाताको कटेराेमा बस्दै आएकी २ महिनाकी सुत्केरीलाई सहयोग गरेको हो ।
आफ्नाे १० बर्षकाे जेठा छाेरासहित बस्दै आएकी ती महिला यसअघि ज्याला मजदुरी गर्दै आएकी थिईन् । उनकाे श्रीमान पनि ज्याला मजदुर गर्दथे । लागूऔषध मुद्दामा पक्राउ परेका उनी धरौटी बुझाउन नसकेपछि जेल चलान भएको एक स्थानीयले बताए । “यी सोझो परिवार हुन् । ज्याला मजदुरी गरेर खाने गर्थे । उनको श्रीमानलाई झुटो आरोप लगाएर जेल पठाइयो । अहिले सुत्केरीको बिजोग भयो ।”, स्थानीयको भनाइ छ ।
दुई महिना अघि लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेसन गरेर सुत्केरी भएकी ती महिलालाई छिमेकीहरूले सहयाेग गर्दै आएका छन् ।
संयोजक गंगा लिम्बुका अनुसार सुत्केरी आमा र बच्चालाई बस्नमा पनि समस्या छ । उनले भनिन्, “टाउकाे निहुर्याएर उभिनुपर्ने टहरा छ । पुस माघकाे अत्यधिक जाडाेमा उनीसहित ती साना बालकहरूलाई ज्यादै गाह्राे भएको देखियो ।”