रूपन्देही — स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढेपनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेको उनले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।
३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो । सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।
सामाग्री सारेको मन्त्रालयका कर्मचारी र कतिपय सचिवालयका कर्मचारीले समेत मंगलबार बिहान मात्र जानकारी पाएका छन् । मुख्यमन्त्री कार्यालयका एक अधिकृतका अनुसार सोमबार दिनभर पनि सामाग्री सार्ने विषयमा कुनै छलफल र तयारी मन्त्रालयमा थिएन । ‘तर, राति अचानक सारिएछ, अहिले हल्ला सुनेको छु,’ ती अधिकृतले भने, ‘देउखुरीमा कहाँ राखिएको छ भन्ने कुनै जानकारी छैन ।’