April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

गण्डकी प्रदेशका ऊर्जामन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त

1.3K

पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा पदमुक्त भएका हुन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले देवकोटालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरी दल त्याग गरेको सूचना शुक्रबार प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले वाचन गरी सुनाएका हुन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको जानकारीसहितको पत्र शुक्रबार नै संसद् सचिवालयमा बुझाएका थिए ।

शुक्रबार प्रदेशसभाको दोस्रो बैठकमा सभामुखले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्मा जानकारी गराए ।

Advertisement

माओवादी केन्द्रले जेठ २८ मा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको थियो । उनले ‘ह्वीप’ उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीको लागि सिफारिस गरेकी थिइन् । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि नेपाल समाजवादी पार्टीको कार्यकर्ता रहेकोले ‘ह्वीप’ नलाग्ने र माओवादीले कारबाही गर्न नमिल्ने बताउँदै आएका थिए । प्रदेशसभा सचिवालयको वेबसाइट, निर्वाचन आयोगमा आफू नेसपाकै सांसदका रुपमा रहेको उनको तर्क छ । नेसपाको केन्द्र र प्रदेश समितिको निर्णयअनुसार मुख्यमन्त्री पाण्डेलाई मत दिएको उनले बताएका थिए । मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि जेठ २९ मा उनी मन्त्री नियुक्त भएका थिए ।