January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

पोखरा बजार बिकेन्द्रीकरको आवश्यकता र छब्बिस कुरिया नीति

राजन श्रेष्ठ
२०८० पुष १५

4.5K

गुरुङ जातीको ऐतिहासिक भूमि कास्की राज्यको पोखरा हालको गण्डकी प्रदेशको राजधानी मात्र नभई एक जीवन्त इतिहास बोकेको भूमि पनि हो । बिक्रम सम्बत १८०९ मा चौबिसी राज्य कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप)का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरू ल्याएर बजार सुरुआत गरेको इतिहासविद्हरूले लेखेको पाउँछौं । नेवारहरू मध्ये पनि व्यापारी, शिल्पी, कालीगढहरू बढी थिए, जसलार्ई नेवारी भाषामा नेवास्मी भनिन्छ । २६ कुरिया अन्तर्गत आउने ठाउँहरू अहिले गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल, तेर्सापट्टि टोलको रुपमा स्थापित छन् ।

नेवारहरू संस्कृतिमा धनी छन् र आफ्नो संस्कृति जगेर्ना गर्न पनि सिपालु हुन्छन् । हरेक अवसरलार्ई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् । तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवारहरू आफ्नो मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार बिस्तार गर्दथे । समग्रमा भन्नु पर्दा १८औ शताब्दीको सुरुमा नेवारहरूले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासले गति लियो । तसर्थ आजको पोखरा सहर बन्नुमा छब्बिस कुरिया नेवारहरूको प्रमुख भूमिका छ ।

तर हाल पोखराको आधुनिक रमझम महेन्द्रपूल, चिप्लेढुङ्गा, न्यूरोड, पृथ्वीचोक, शृजनाचोक, लेकसाइड तीर मोडिएसँगै यो पुराना वस्ती मुर्झाएको देखिन्छ । तर अझैपनि नयाँ अवसर सृजना गर्न सकिने मात्र हैन, देशकै ठुलो महानगर भएपनि सिमित ठाउमा केन्द्रीत बजारलार्ई बिकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Advertisement

काठमाडांै उपत्यकाको तुलनामा सिमित मात्रामा हुने पर्व र जात्रापनि छब्बीस कुरिया क्षेत्रमा नै केन्द्रीत भएको देखिन्छ । पछिल्लो समय छब्बीस कुरिया क्षेत्र लगायत कास्कीका बिभिन्न गाँउ र छिमेकी जिल्लाहरूबाट बसाइसराइ गरेका नेवारहरू पोखरा महानगरपालिकाका बिभिन्न ठाउमा छरिएर बसेका छन् । आफू बस्ने समुदायमा अल्पसन्ख्यकको रुपमा बसोबास गरिरहेका नेवारहरू आफ्ना बिभिन्न पर्व र जात्राहरू बिर्सनुपर्ने बाध्यता छ ।

ती बाध्यताहरूलार्ई चिर्न र विभिन्न क्षेत्रमा बसेका नेवारहरूलाई एकत्रित पारी आफ्नो पर्व र जात्राहरूलाई ब्यूताउनको लागि नेवारी संघसंस्थाहरूले पहल गर्नुपर्दछ । छब्बिस कुरिया बजारको मौलिकतालाई सम्रक्षण गर्दै आधुनिक पोखरा बजारको बिकेन्द्रीकरण आजको आवश्यकता हो । र, त्यसको लागि पनि छब्बिस कुरिया नीति एउटा मार्ग बन्न सक्छ । पोखरा बजार स्थापनाको इतिहासलाई आत्मसाथ गर्दै जसरी २७२ वर्ष अगाडि काठमाडौं उपत्यकाबाट छब्बिस कुरिया क्षेत्रमा एकतृत भई पोखरा बजार बसाल्न मूख्य भूमिका खेलेका थिए त्यसरी नै समय अनुसार पोखरा बजारलाई बिकेन्द्रीकृत गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।

यहाँ बाकी रहेका नेवा वास्तुकलाका मन्दिर तथा घरहरू, नेवास् जात्रापात्रा, स्थानीय नेवाः खाजा आदीलार्ई समेटेर पोखरा सांस्कृतिक पर्यटन क्षेत्र निर्माण गर्न सके कोरोना महामारी र आर्थिक मन्दीसँगै गाजिएको पर्यटनलाई नयाँ लयमा ल्याउन सकिन्छ र पोखरा बजारको इतिहास पनि भविष्यलार्ई साँच्न सकिन्छ । उदाहरणको लागि पोखरा महानगरपालिकाको पूर्वमा लेखनाथ, पश्चिममा हेम्जा, उत्तरमा लामाचौर र दक्षिणमा रहेका बिरौटा बजारलाई चलायमान बनाउन नेवारीसँग संस्थासँगै जात्रा, पर्वलाई ति क्षेत्रमा पनि केन्द्रित गर्न सकिन्छ । पोखरामा आफ्नो इतिहास बोकेको छब्बिस कुरियाको मौलिकतालाई जगेर्ना गरी आधुनिक पोखराको विकासमा बिभिन्न सरकारी निकाय तथा अन्य समुदायहरूसाग पनि हातेमालो गर्नुपर्दछ ।

पोखरा महानगरपालिकाको जिम्मेवारी

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न तथा भावी पुस्ताको लागि सुरक्षित राख्न महानगरपालिका भित्रका महत्वपूर्ण ऐतिहासिक क्षेत्र एवम् बिभिन्न समुदायको मौलिक जात्रा, पर्वहरू सम्रक्षण गरी सहरको महिमा र गरिमालार्ई आधिकारिक रुपमा लिपिबद्ध गर्नेतर्फ महानगरपालिकाले समयमै ध्यान दिनुपर्दछ ।

पोखराको विकासमा अन्तराष्ट्रीय विमानस्थल निर्माण एउटा खुड्किलो हो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने पहलसँगै यहाँको मौलिकता संरक्षण गरी बजार बिन्केन्द्रीकरणसहित आधुनिक विकासको रेखा कोर्ने र कार्वान्वयन गर्ने बेला भएको छ । यसको सुरुवात पोखराको पहिलो बजार छब्बिस कुरियाको मौलिकता संरक्षण गरी अगाडि बढ्न सके महानगरपालिका साच्चिनै योजनाबद्ध तरिकाले अगाडि बढेको आभाष हुनेछ ।

महानगरपालिका भित्रका ऐतिहासिक क्षेत्रको मौलिकता संरक्षण गर्दै आधुनिक विकासको लागि दुरगामी योजनासहित अक्षरस कार्यान्वयन गरी अहिलेकै मेयरको अवधिमा पोखरा बजार स्थापनाको २७५ वर्ष उत्सव मनाउन सके सबै पोखरेलीहरू आफ्नो मेयर तथा महानगरपालिका प्रति गौरवान्वित महसुस गर्नेछन् ।