पोखरा । नवराज शर्मा प्यानलसहित नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा विजयी भएका छन् ।
उनले ५३१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे ।
शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोर्नुपरेको छ ।
उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् ।
सचिवका उम्मेदवार लमजुङका धनञ्जय दवाडीले ५२० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए ।
उपसचिव पदमा कास्कीका दामबहादुर विक ४९९ मतसहित विजयी भएका छन् । उपसचिव पदका अर्का प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मतमात्र पाए ।
उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी पर्वतकी मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत पाइन् ।
अधिवेशनमा विभिन्न क्लस्टरबाट २७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।