कास्की । गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन् । प्रदेश प्रमुखकाे कार्यालयले ३ दिनकाे समय दिएकाे छ ।
गण्डकी प्रदेशमा एमाले नेतृत्वकाे सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएकाे हाे । सरकार गठनका लागि काँग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदकाे गठबन्धन छ ।
गण्डकीमा सरकारकाे नेतृत्व काँग्रेसले लिने कि माओवादीले लिने भन्ने विषयमा टुंगाे नलाग्दा सरकार गठनका लागि ढिला भएकाे थियाे ।
६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदकाे आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलाे दलकाे हैसियतले काँग्रेसकाे २७, सभामुखसहित माओवादीकाे ८, एमालेकाे २२, राप्रपाकाे २ सिट र स्वतन्त्र सांसदकाे सहभागिता रहेकाे छ ।




