पोखरा । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य लीलाबहादुर थापामगरले नेपालमा प्रचलित सबै सम्वत् देशको सम्पत्ति भएको बताए । बागलुङ–पोखरा मगर समाजले शनिबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य थापामगरले विक्रम सम्वत् भारतको उज्जैनका राजा विक्रम आदित्यको नामबाट सञ्चालित सम्वत् भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनलेभ ने, ‘यो भारतको एक जना शक्तिशाली राजाको नामबाट सञ्चालित सम्वत् हो । विक्रम सम्वत्लाई राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा मान्न सुरु गरियो, मानियो, ठिकै छ, सबैलाई मानौं । एउटालाई मात्र मान्ने चलन अझै गइसकेको छैन ।’
प्रदेशसभा सदस्य थापामगरले नेपालमा बुद्ध सम्वत्, शक सम्वत्, हिजरी सम्वत्, किराँत येले सम्वत्, नेपाल सम्वत्लगायतका सम्वत् पनि प्रचलनमा रहेको पनि बताए । नेपाल सबैको साझा पूmलबारी भएको भन्दै उनले नेपालमा विभिन्न समुदायका आ–आफ्नै सम्वत् प्रचलनमा रहेको बताए ।
सांसद् थापामगरले यो, ऊ पार्टी नभनेर मगर समुदायको सवालमा सबैलाई एकजुट बनाउन आवश्यक रहेको पनि बताए ।
नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको सवाल र मुद्दालाई मगर समुदायका सांसद्हरूले कानून निर्माणका बेला विशेष ध्यान दिनुपर्ने बताए । नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापामगरले अब मगर समुदायको बाहुल्य रहेका हरेक स्थानीय तहमा मगर भाषामा पठनपाठन र सरकारी कामकाजका लागि मगर संघले विशेष अभियान सुरुवात गर्ने घोषणा गरे ।
यस्तै, कार्यक्रममा बोल्दै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले राजनीति, प्रशासन, न्यायालय सबैतिर मगर समुदायको पहुँच र प्रतिनिधित्व बढाउन मगर संघसंस्थाले भूमिका खेल्नुपर्ने बेला आएको बताए ।
बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीका जिल्ला सदस्य रामबहादुर पुनमगर, समाजका सल्लाहकार क्या. मीनबहादुर पुनमगर, ढकबहादुर पुनमगर, समाजका सचिव रूद्रबहादुर श्रीसमगर, कोषाध्यक्ष कृष्ण पुनमगरले बोलेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित लीलाबहादुर थापामगर र नेपाल मगर संघ, गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित तारामाया थापामगरलाई बधाईसहित सम्मान समेत गरिएको थियो ।




