काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउँदै आएको समाजवादी केन्द्रले पक्षमा मत दिन निर्देशन दिएपछि मुख्यमन्त्रीलाई मत दिन तयार भएको हो ।
१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा तेस्रो पटक विश्वासको मत लिँदै छन्।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ ।