काठमाडौं । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले ‘भरतपुर भ्रमण वर्ष’सफल बनाउन विभिन्न देशमा रहेका राजदुतहरूसँग आग्रह गरेकी छन् ।
भ्रमण वर्ष प्रचारप्रसार गर्ने उद्देश्यसहित युरोप भ्रमणमा रहेकी उनले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी हुन् ।
प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।
नेपाली राजदूतहरुले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने विश्वास दिलाएको जनाइएको छ।
प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रणा गरेकी थिइन् ।
प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचारप्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गरेकी थिईन् ।
भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ ।