काभ्रेपलान्चोक । जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ११ लुकुवादेखि बेथानचाेक गाँउपालिका ५ काे छिर्केसम्म ७ किलोमिटर कच्ची सडककाे ट्याक खाेल्ने काम सम्पन्न भएको छ । पनौती नगरपालिका ११ लुकुवा निवासी समाजसेवी टीकाप्रसाद हुमागाँईकाे पहलकदमीमा निर्माण थालिएको सडकलाई विभिन्न निकायबाट श्रोतको व्यवस्थापन गरी ट्र्याक जोडिएको हो ।
स्थानीय उपभोक्ता नवराज थापा मगरकाअनुसार लुकुवादेखि छिर्केसम्म सडककाे रेखा काेरिने कुनै आधार नै थिएन । सडक लैजाने ठाउँमा भीर-पहरा र घना जंगल थियो । सडक निर्माणका लागि अफ्ठेरो भूगोल भएकाले मोटर गुड्ने सडक निर्माण गर्न कठिन थियो । ग्रामीण समुदायले मोटरबाटो खन्न शुरू गर्दा पत्याएका थिएनन् । यसरी कल्पना गर्न पनि नसकिने असहज ठाँउमा कसले आँट दिन्थ्यो र हामीले माेटर हिड्ने सपना देख्नु, उनले भने- “तर टीका दाईले यसकाे जिम्मेवारी बहन गरिदिनु भयो । हामिले बाटाे पायौं। “
यातायातको असुविधाले गाउँका मानिस घर छाडेर सबै शहर पसेका थिए । गाउँमा सडक आएपछि स्थानीयहरु गाउँ फर्किएर खेती-किसानीमा लाग्ने अवस्था सिर्जना भएको छ । अब उनीहरूले आफ्ना उत्पादनलाई सजिलै बजारमा पुर्याउन सक्छन । जसले किसानको आयआर्जनमा वृद्धि हुन्छ र उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउने स्थानीय अगुवा गोविन्द हुमागाईको विश्वास रहेको छ ।
सडकको ट्र्याक जोडिएपछी बागमती प्रदेश सरकारका श्रम, राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पूर्वमन्त्री बसुन्धरा हुमागाँई र स्थानीय जनप्रतिनिधिहरुले पैदलयात्रा गरी अनुगमन तथा निरीक्षण गर्दै स्तरोन्नतीका लागि साथ दिने विश्वास स्थानीयलाई दिएका छन्।
उक्त अवसरमा स्थानीय समाजसेवी टीका प्रसाद हुमागाँईकाे निरन्तर प्रयासले सडकको ट्र्याक खुलाउन सफल भएको भन्दै मन्त्री लम्सालले प्रशंसा गरे । पाँचवर्ष अगाडिसम्म बाटोकाे कल्पना नगरिएको ठाउँमा बाटो खुल्नु खुशीकाे कुरा भएको बताउँदै उनले भने, “यो सडक निर्माण कार्यमा समाजसेवी टीकाप्रसाद हुमागाँईकाे जति प्रशंसा गरे पनि अपुग हुन्छ ।”
गाउँमा सडक पुगेपछि धार्मिक र कृषि पर्यटनको विकास गर्न सघाउ पुग्ने अगुवा टिकाप्रसाड हुमागाईको आशा र विश्वास छ । स्थानीयस्तरमा होमस्टे लगायत नयाँ ब्यबसाय सञ्चान गरी पर्यटन ब्यबसायको प्रवर्द्धनमा लाग्ने हुमागाईको योजना छ जसबाट गाउँमा नै रोजगारी सिर्जना हुने आशा गरिएको छ ।
यो सडकका लागि बागमती प्रदेश सरकारले ३० र पनौती नगरपालिकाको वडानम्वर ११ ले ५ लाख अनुदान उपलब्ध गराएको थियो । कुल ३५ लाखमा ट्र्यस्क खोलिएको सडकको सुविधा लिन पाउने भएपछि स्थानीय उपभोक्ताले खुसी व्यक्त गरेका छन् ।