हेटौंडा । रिपोर्टस क्लब नेपाल मकवानपुर शाखाद्वारा सहिद दिवस २०८० को सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले सञ्चार क्षेत्रलाई लोकतन्त्रको मेरुदण्ड र सञ्चारकर्मीलाई लोकतन्त्रको पहरेदारको संज्ञा दिए ।
मन्त्री श्रेष्ठले इतिहासको खासखास कालखण्डमा राष्ट्रले साझा सपना निर्माण गरेर जानुपर्ने कुरा बताए । उनले भने, “साझा सपना र साझा सङ्कल्पले मात्रै देशलाई समुन्नतिको बाटोमा अघि बढाउँछ । अबको नेपालको साझा सपना समावेशी समुन्नत नेपालको निर्माण हो। अहिलेको अलमल भनेको साझा सपना निर्माण गर्न नसक्दाको अलमल हो । त्यसैले साझा सपना निर्माणका लागि दलीय स्वार्थभन्दा माथि उठेर बृहत्तर रूपमा राष्ट्रिय बहसको खाँचो रहेको छ ।”
उनले सहिद कुनै पार्टी, समुदाय, लिङ्ग, क्षेत्र, धर्म विशेषको नहुने, राष्ट्रको हुने भन्दै सहिदलाई दलीयकरण कसैले पनि गर्नु नहुने बताए । बागमती प्रदेश सरकार सहिदका अधुरा सपना पुरा गर्न इमानदारीपूर्वक लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
सोही दिन बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा हेटौंडा ११ स्थित सहिद स्मारक पार्कमा रहेका सहिदहरूको प्रतिमामा सुरक्षाकर्मीहरूबाट सम्मान स्वरुप सलामी अर्पण गरिएको थियो । त्यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मा, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, सभामुख भुवन कुमार पाठक, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूले सहिदहरूको प्रतिमामा माल्यार्पण गरेर सहिदहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।