May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

भरतपुरस्थित कारागारमा बायोग्यास प्लान्ट राख्न मन्त्री श्रेष्ठको निर्देशन

2.5K

हेटौडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज चितवन भरतपुरस्थित कारागार निरीक्षण गरेका छन् । झन्डै ३०० जना क्षमता रहेको कारागारमा ७०० जनाभन्दा बढी कैदी/बन्दी रहेको कुरा जेलर कमल आचार्यले बताए ।

कारागारमा ढल निकास नहुँदा असाध्यै दुर्गन्ध फैलने र त्यसको प्रत्यक्ष असर कैदी/बन्दीको स्वास्थ्यमा परिरहेको, औषधोपचारका लागि बजेट नहुँदा ठुलो समस्या भोगिरहेको जानकारी पनि जेलरले दिए । त्यस्तै खाना बनाउन दाउराको समस्या रहेकोे, पुरानो जीर्ण भवनमा वायरिङ्ग राम्रो नभएकाले जुनसुकै बेला आगलागी हुनसक्ने खतरा रहेकोे कुरा पनि बताए ।

निरीक्षणको क्रममा कैदी/बन्दीले मन्त्री श्रेष्ठलाई विविध समस्या समेटेर एउटा लिखित मागपत्र नै दिएका थिए । मन्त्री
श्रेष्ठले ढल निकासको समस्या समाधान गर्न बायोग्यास प्लान्ट राख्न निर्देशन दिँदै मन्त्रालयले बजेटको व्यवस्था गर्ने जानकारी दिए । साथै उनले ७०० जनालाई खाना बनाउन पुग्ने राइस स्टिमर पनि उपलब्ध गराउने प्रतिबद्धता गरे । निरीक्षणको क्रममा कैदी/बन्दीलाई स्वरोजगार बनाउन मन्त्रालयले सिप सिकाउने, पुस्तकालयमा पुस्तकहरू उपलब्ध गराउने, कारागारभित्र योग, ध्यान सिकाउने व्यवस्था
गर्ने कुरा पनि बताए ।

Advertisement

मन्त्री श्रेष्ठले कारागारको व्यवस्थापन प्रदेश सरकारको अधिकार भए तापनि आजसम्म नेपाल सरकारले उक्त अधिकार नदिँदा कारागार सञ्चालन तथा व्यवस्थापनमा समस्या आएको कुरा पनि गरे । साथै उनले अहिले देशभरका कैदी/बन्दीलाई दैनिक लगभग एक करोड सरकारले खर्च गरिरहेको जानकारी दिँदै अब चाँडै खुल्ला कारागारको अवधारणा र अभ्यासमा गएर मात्रै कारागार सम्बन्धी वर्तमानमा भोगिरहेको समस्या समाधान हुने कुरा बताए ।

कारागार निरीक्षणको क्रममा मन्त्रालयको सचिव ध्रुव गैंडा र चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा पनि थिए ।