काठमाडौ । युवाहरुको वृत्तिविकासका लागि काठमाडौंमा सुशासन सम्बन्धी कार्यक्रम गरिएको छ । शनिबार चन्द्रागिरी नगरपालिका वडा नं ३ मा रहेको मङ्गलोदय माविमा बागमती प्रदेश सभा सदस्य रमा आले मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मगरले युवा शक्ति कमजोर हुनुमा अध्ययनको कमी, इच्छाशक्तिको कमी, सिप र दक्षताको अभाव, राजनीतिक आवरणमा युवा शक्ति विभाजित हुन पुगेको बताइन् ।
अहिलेको परिस्थितिमा सामाजिक सञ्जालको गलत प्रयोग र नकरात्मक टिप्पणी मात्रैले समस्याहरूको समाधान हुन नसक्ने युवा शक्तिको पनि उत्तिकै भूमिका रहने बताए । युवा बर्गमा सुसासनको ज्ञानको अभावले गर्दा नै भ्रष्टाचार,देशभक्तिपनको कमि भएको बताइन् ।
कार्यक्रममा युवा संघ नेपाल काठमाडौको अध्यक्ष तथा समाजसेवी गौरीशंकर रानाले युवा शक्तिलाई पर्याप्त अवसर दिनु पर्ने नीति सरकारले ल्याउनु पर्ने बताए । युवालाई कसरी नेपालमै केही गरौँ भन्ने सोचमा समेत जोड् दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले नेपालबाट दिनहुँ हजारौँ युवा जनशक्ति पलायन भैरहेको विषयमा सबै तहका सरकारहरुले सोच्नुपर्ने बताइन् । युवालाई स्वरोजगार बनाउने तर्फ ध्यान दिदै यस्तो खाले कार्यक्रमहरू जिल्लामा गरिरहेको उनले जानकारी दिइन् ।उनले दशौँ हजार युवाले देश छोडेर विदेश पलायन हुनुपरेको त्यसमा पनि अधिकांश युवाहरुले तल्लो स्तरको काम गरिरहेकोले ती युबाहरुलाई दक्ष बनाउन जिल्ला युवा समितिले विभिन्न तालिमहरु दिइरहेकोले गर्दा तालिम लिन पनि आग्रह गरे। युवा जनशक्ती कसरी देशमै राख्ने टिकाउने भन्ने बिषयमा समेत सरकारले अध्ययन गरेर दिगो योजना ल्याउनुपर्ने अध्यक्ष मगरको भनाइ थियो ।
सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन, बागमतीमा युवा सशक्तिकरणको मूल नारा राखेर बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको प्रदेश युवा परिषद् बागमती प्रदेश र जिल्ला युवा समिति काठमाडौं अयोजक रहेको थियो ।
जिल्लाका १२ स्थानीय तहका विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुको सहभागी गराएर सुशासन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरले बताइन् ।