April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जसरी पुरा हुन्छः रेनु दाहाल

2.1K

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी रहेको निर्माणको काम महागनरले पूरा गर्ने बताइन् । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको रङ्गशाला जसरी भए पनि पुरा गर्ने मेयर दाहालले बताइन् ।

शुक्रबार नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा बोल्दै मेयर दाहालले भनिन्, ‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।’

उनले सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको बताइन् । ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ, हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।’

Advertisement

रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको उनले स्पष्ट पारिन् ।
महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिइन् ।

रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्घ ढङ्गले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने उनले बताइन् ।

उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने बताइन् ।