September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बागमती मन्त्रिपरिषद् बैठकको निर्णय

650

काठमाडौं । बागमती प्रदेश सरकारले भाषासम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा कालिञ्चोक गाउँपालिकाका डा. प्रदीपकुमार मैनालीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा (१) बमोजिम बागमती प्रदेशसभाको सचिवालय सचिव पदमा पूर्णबहादुर दर्जी, अधिकृतस्तर एघारौं तहलाई सरुवा गर्ने निर्णय गरिएको हो ।

यस्तै,  आजको बैठकले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ। संविधानले प्रदेश सरकारलाई दिएको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा हाल्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए।

Advertisement

यस्ता छन् बागमती प्रदेश मन्त्रीपरिषद्ले गरेका निर्णयहरू :

१) प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान ।

२) नेपालको संविधान अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर र यातायात र प्रदेश लोकमार्ग उल्लेखित छ । प्रदेशको उल्लेखित एकल अधिकारमा संकुचन आउने गरी संघीय संसदबाट `सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९´ पारित भई मिति २०७९/६/९ मा नेपाल राजपत्रमा प्रकाशित भएको छ । उक्त ऐनको दफा १२ को उपदफा (१) मा `दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि संघीय राजधानी सहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न संघीय सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिनेछ´ भन्ने व्यवस्था रहेकोले सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेपालको संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित बागमती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने ।

३) प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा कालिञ्चोक गापाका डा. प्रदीप कुमार मैनालीलाई नियुक्ति गर्ने ।

४) प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा (१) बमोजिम बागमती प्रदेशसभाको सचिवालय सचिव पदमा पूर्ण बहादुर दर्जी, अधिकृतस्तर एघारौं तह लाई सरुवा गर्ने ।

५) पूर्वसभामुख, संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य मा. सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण असमायिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली सहित परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित ।