सिन्धुली । पहिरो प्रभावित परिवारलाई बागमती प्रदेश सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरेका पहिरो प्रभावित परिवारलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।
प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र नेपाल सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरि जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्दता गरेका हुन् ।
साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं. ५ सिक्रे दोभानको पहिरोमा परि मकवानपुरको दुई र सिन्धुलिको दुईजना गरि ४ जनाको मृत्यु भएको थियो । दुईजना भने अझै बेपत्ता रहेका छन् । पहिरोमा परि सिन्धुलिका २३ वर्षिय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीको मृत्यु भएको थियो । २६ वर्षिय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् ।
मन्त्री श्रेष्ठले आज परिवारलाई भेटी मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । काजकिरियाका लागि मृतकका परिवारलाई व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी सिन्धुली र उद्योग बाणिज्य संघ सिन्धुलीको तर्फबाट पनि ४४ हजार बराबरको खाद्य र गैरखाद्य सामाग्री सहयोग उपलब्ध गराइएको छ ।