सिन्धुली । सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका- ५ सिंपालमा आज (शनिवार) देखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। बागमती सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेस्ठको सक्रिय पहलमा आजदेखि फोरजी सेवा सुरु भएको हो ।
यस टावरमा छिट्टै टुजी सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री श्रेष्ठले जानकारी दिए । उनी यही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
मन्त्री श्रेष्ठकै पहलमा केही समय अघि यसै पालिकाको ४ नम्बर वडाको चौकीडाँडामा पनि नेपाल टेलिकमको फोरजी सहितको सेवा सञ्चालनमा आएको थियो ।
१० वर्षे माओवादी जनयुद्धमा पूर्वको रोल्पा भनेर चिनिने यस पालिका मानव विकास सूचकांकमा निकै पछि रहेको छ । बागमती प्रदेशभित्र रहेका ११९ पालिकामध्ये मानव विकास सूचकांकमा ११७ नम्बरमा रहेको यस पालिकाको समग्र विकासका लागि विशेष जोड दिने प्रतिबद्धता मन्त्री श्रेष्ठले गरेका छन् ।