काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिद्वारा शुक्रबार जननेता तथा स्रष्टा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका सन्दर्भमा विशेष कविगोष्ठी तथा प्रवचन कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी समिति सदस्य तथा सांसद रघुजी पन्तले मदन भण्डारीले प्रतिपादन गरेका जबजको मार्गमा इमान्दारिताका साथ हिँडेमा समाज रूपान्तरण संभव भएको विचार व्यक्त गरेका थिए । उनले सामाजिक रूपान्तरण आजको आवश्यकता रहेको हुँदा सांस्कृतिकर्मीहरू यसतर्फ प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।
कार्यक्रमका सभाध्यक्ष महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले जननेता तथा स्रष्टा भण्डारीको जन्मजयन्तीका अवसरमा महासंघका प्रदेश तथा जिल्ला कमिटीहरूको आयोजनामा देशभरि सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना भइरहेको बताए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका उपाध्यक्ष आरसी न्यौपानेले नेपाली हावा, पानी र माटो सुहाउँदो मौलिक विचार र दर्शनका प्रवर्तक मदन भण्डारीको विचार तथा दर्शन आजको समयमा झन् झन् सान्दर्भिक हुँदै गएको बताए ।
कार्यक्रममा प्रा. जगत्प्रसाद उपाध्याय, प्रा.डा. देवी नेपाल, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, राम विनय, देवु लुइटेल, रुपेश अलंकार, नमूना शर्मा, नन्दु उप्रेती लागयतले कविता सुनाएका थिए ।
कार्यक्रमको सहजीकरण महासंघका महासचिव अशोक राईले गरेका थिए। उक्त अवसरमा दही-चिउरा खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो ।