चितवन । साहित्याकार दिलिप बान्तावाको कथासंग्रह ‘ताल्चा’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिब डेढ सालअघि प्रकाशनमा आएको यश पुस्तकमाथि चितवनमा अन्तरक्रिया गरिएको हो ।
‘सम्पूर्ण किताब नारायणघाट’को आयोजनामा शुक्रबार साँझ नारायणी रिसाेर्ट गैँडाकाेटमा सम्पन्न उक्त कार्यक्रमा विश्लेषक सरिता तिवारी, उदय अधिकारी र पाठकको तर्फबाट माया गुरुङले कथामाथि टिप्पणी गरेका थिए ।
विश्लेषक तिवारीले बान्तावाको उमेर सानो तर पहिलाे संग्रहमै परिपक्कता देखिएको बताइन्। ‘लेखककाे उमेर सानाे छ तर परिपक्वता ज्यादा देखिन्छ ।’, उनले भनिन् । उनले बान्तावाले प्रयाेग गरेका भाषा र बिम्ब उच्चस्तरको रहेकाे बताइन् । तर, कतिपय ठाउँमा कथाकार अलि हतारिएकाे टिप्पणी उनले गरिन् ।
बान्तावा रोजगारीको सिलसिलामा कोरियामा रहँदै आएका छन् । उनले कोरियाबाटै कथासंग्रह पाठकमाझ ल्याएका हुन् भने कविता पनि लेख्ने गरेका छन् । अर्का टिप्पणीकार थिए समालोचक, लेखक तथा प्रोफेसर उदय अधिकारीले अब कोरियामा पनि नेपाली साहित्यको उपस्थिति रहेको बताए । ‘युरोप, अमेरिका, अष्ट्रेलियालगायत ठाउँबाट नेपाली साहित्य निरन्तर अघि बढिरहेकाे थियाे । अब काेरियामा पनि बलियाे उपस्थिति हुनेछ ।’, अधिकारीले भने । उनले बान्तावालाई गुरूप्रसाद मैनालीको उत्तराधिकारीजस्ताे लागेकाेसमेत बताए ।
पाठकीय टिप्पणीमार्फत प्रतिक्रिया दिँदै माया गुरुङले ताल्चाका कथाहरू राम्रो लागेको बताइन् । केही कथामा कथाकार हतारिएको आफूलाई अनुभूत भएको मायाले बताइन् ।
यस्तै, युवा आख्यानकार रमेश सायनले ताल्चाका केही कथामा दक्षिण कोरियाको माटो पोतिएको बताए । कथाकार बान्तवा र आफू सँगसँगै कोरियामा बसेको र कतिपय कथामा त्यहीँको दैनिकी बुनिएको सायनले बताए ।
विभिन्न साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।