April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘एक समुदाय एक प्रथम उद्धारकर्ता टोली’ अभियान अन्तर्गत वडावडामा अभिमुखिकरण

2.1K

भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरका वडा नं. ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूलाई १ दिने विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोज बहादुर तामाङ, वडा नं. ५ का का.बा वडा अध्यक्ष प्रभुराम थापा, वडा नं. ६ का वडा अध्यक्ष धन बहादुर लामा र वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीको सभापतित्वमा क्रमशः वडा नं. ४,५,६ र ८ मा सम्पन्न अभिमुखीकरण कार्यक्रम भएको हो ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले वडा तथा नगरपालिकाले विपद् व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले मनसुनको समयमा आवश्यक राहत सामग्रीहरू तयारी अवस्थामा राख्नको लागि वडा तथा नगरपालिकालाई आग्रह गरे । साथै आगामी दिनमा विपद् तथा मनसुन पूर्व तयारीका गतिविधिहरू समुदाय, वडा र विद्यालय स्तरमै सञ्चालन गर्न पनि सुझाव दिए ।

Advertisement

त्यसै गरी एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति अनुरूप ९ वटै वडामा वडा स्तरीय विपद् व्यवस्थापन समिति पूर्नगठन, खोज तथा उद्धार सामग्री भण्डारण, गैह्र खाद्य राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली र प्राथमिक उपचार टोली गठन गर्न गइरहेको कुरा चाँगुनारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं। ८ का वडा अध्यक्ष जनक खत्रीले जानकारी दिए ।

मनसुनको समय आउन लागेकोले सम्भावित सहरी बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरूको पहिचान गरी पूर्व तयारीका गतिविधिहरू सञ्चालनका साथै प्रतिकार्यका लागि तयारी रहन आगामी आर्थिक वर्षको नीति तथा योजना र बजेटमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम तथा गतिविधिहरू समावेश गर्नको लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले वडा स्तरीय अभिमुखीकरणको आयोजना गरेको कुरा चाँगुनारायण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले बताउनुभयो । उनले यस अघि वडा नं. १ र २ मा अभिमुखीकरण सम्पन्न भइसकेको र वडा नं. ३, ७ र ९ मा यसै हप्ता सम्पन्न गरिने कुरा बताए

चाँगुनारायण नगरपालिकाको आयोजना तथा आइसेट नेपाल र डिसिएको साझेदारीमा सञ्चालित नेक्सस परियोजनाको सहयोगमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ बमोजिम गठित स्थानीय विपद् व्यवस्थापन समितिको पूर्नगठन, विपद् जोखिम न्यूनीकरण एवं मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण, आर्थिक वर्ष २०८०/८१ मा विपद् व्यवस्थापनमा समेट्नुपर्ने कार्यक्रम तथा गतिविधि सम्बन्धी विषयमा सहभागीहरू बिच छलफल र समूह कार्य गरिएको थियो ।

दिनेश थापा, राजकुमार लम्साल, भरत ढुङ्गाना र ऋषि खड्काले सहजीकरण गरेको उक्त अभिमुखीकरण कार्यक्रममा ३४ महिला र ८७ पुरुष गरी जम्मा १२१ जनाको सहभागिता रहेको थियो ।