हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले जातीय विभेद र उत्पीडन विस्तारै हटाउदै जानुपर्छ भन्ने यथास्थितिवादी सोंच खतरनाक रहेको बताए । बुधबार हेटौंडामा सुरु भएको दलित महिला संघको बागमती प्रदेश स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्ता सोचविरुद्ध दलितहरु एकजुट हुनुपर्ने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘दलितमाथि विभेद र उत्पीडन त छ, तर यो आजको आजै हट्दैन; बिस्तारै हटाउँदै जानुपर्छ । मिलेर बसेको समाजको सामाजिक सद्भाव खलबलिन दिनुहुन्न भन्ने यथास्थितिवादी सोंच खतरनाक कुरा हो ।’
मन्त्री श्रेष्ठको प्रश्न थियो, ‘बिस्तारै भनेको कहिलेसम्म हो ? २०२० सालमा मुलुकी ऐन संशोधन गरेर जातको आधारमा छुवाछूत गर्न नपाइने कुरा राजा महेन्द्रले घोषणा गरेको पनि त ६० बर्ष नाघिलाग्यो । मिलेर बसेको समाज भनेको के हो ? दलितहरू सधैं दलित नै भैरहुन् अनि उनीहरूमाथि सधैं छुवाछूत र भेदभाव गरिरहन पाउनुपर्छ भनेको हो ? यस्तो समाज मिलेर बसेको हो कि जबर्जस्ती मिलाएर राखिएको हो ?’

मन्त्री श्रेष्ठले धर्म परिवर्तन गरेर होइन, भौतिकवादी बनेर मात्रै दलितको मुक्ति हुने पनि बताए । यस्तै, अन्तरजातीय प्रेम बिबाहलाई प्रोत्साहन गर्नुपर्ने, जात लुकाएर थर मात्रै लेख्ने चलनको ठाउँमा सिधै जात लेख्दा राम्रो हुने पनि उनले सुझाव पनि दिएका छन् ।
मन्त्री श्रेष्ठले रूपान्तरण आदेश र उपदेशबाट नहुने भन्दै परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने बताए । ‘दलित–दलितबीचमा रहेको चर्को छुवाछूत र भेदभाव अन्त्य नगरेसम्म दलित मुक्ति संभव छनै ।’, उनले भने ।
उनले पहाडी र मधेसी दलितले भोग्दै आएको समस्या धेरै समान भए पनि पहाडी र मधेसी दलित समुदायबीच अन्तर्घुलन र एकता हुननसकेकाले दलित आन्दोलन कमजोर हुन पुगेको कुरा पनि बताएका छन् । पहाडी र मधेसी दलित समुदायबीच आपसी अन्तर्घुलन र एकता बढाउन मन्त्री श्रेष्ठले सुझाव दिएका छन् ।
उनले बागमती प्रदेश सरकारले ल्याउन लागेको नीति कार्यक्रम र बजेटले दलितको समस्या धेरै नै समाधान गर्ने कुरा पनि बताए ।
सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गरेका थिए भने दलित महिला संघका संस्थापक दुर्गा सोवलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाबाट झन्डै ५०० दलित महिलाहरूको सहभागीता रहेको थियो ।