November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

यातायात कार्यालयको भवन निर्माण प्रक्रिया सुरु, विभिन्न निकायबाट अवरोध

२०७९ फाल्गुन १०

1.8K

भक्तपुर । बागमती प्रदेशस्तरीय यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यको प्रारम्भमै जिल्ला समन्वय समितिले अबरोध गरेको छ । बागमती प्रदेश सरकारको बजेटमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गण्डुस्थित हाकेडाँडामा ११ रोपनी क्षेत्रफलमा सवारी चालक अनुमति पत्र वितरणदेखि बिलबुक नबिकरणसम्म एकै ठाउँमा गर्ने गरी कार्यालयको आफ्नै भवन निर्माणका लागि जमिन सम्याउने र माटो व्यवस्थापन गर्ने कार्य सुरु भएकोमा माटो सम्याउने र व्यवस्थापन गर्ने कार्य तत्काल रोक्न जिल्ला समन्वय समितिले नै निर्देशन दिई निर्माण कार्यमा अवरोध पु¥याएको हो ।

यातायात व्यवस्था कार्यालय हरेक चार–चार वर्षमा भाडाको भवनमा सर्दै आएको छ । भवन निर्माणमा अवरोध पु¥याएको भन्दै सूर्यविनायक नगरपालिकाले आपत्ति जनाएको छ ।

एकसाता अगाडि नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्व सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकारका भौतिक तथा यातायात मन्त्रालयका सचिव शंकर भण्डारी, बागमती प्रदेश सभा सदस्य किरण थापा, वडाअध्यक्ष रबिन्द्र सापकोटालगायत प्राबिधिक टोलीसहितको फिल्ड अनुगमन लगत्तै प्रदेश सरकारले भवन निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन जमिन सम्याउन निर्देशन दिएपछि तीन दिनदेखि माटो व्यबस्थापनको काम सुरु भएको हो ।

Advertisement

नेता बस्नेतको पहलमा प्रदेशका पूर्व मुख्य मन्त्री डोरमणि पौडेलकै पालामा तत्कालिन मन्त्रालयले १३ करोड बजेट बिनियोजन गरि ठेक्का आव्हान गरेकोमा कौशिल बस्नेत निर्माण सेवा प्रा.ली.ले २०७८ माघ २७ गते ठेक्का सम्झौता गरेपनि विभिन्न कारणले रोकिएको भवन निर्माण कार्य सुरु लाग्दा पुन अवरोध आएको हो ।
नेकपा एमालेका नेता बस्नेतले विगतमा पनि यातायात कार्यालय निर्माणमा अवरोध खडा गरेको र अहिले पनि केही तत्व त्यसरी नै कार्यालय निर्माण हुन नदिन लागिरहेको बेलामा यसरी अबरोध आउन नहुने भन्दै कानून सम्बत कुरालाई कसैले रोक्न नहुने बताए । ‘विभिन्न कारणले नरोकिएको भए अहिले कार्यालयको भवन निर्माणले एउटा स्वरुप लिइसक्थ्यो, अब फेरी प्रदेश सरकारले तत्काल भवन निर्माण कार्य अगाडि बढाउन जमिन सम्याउन निर्देशन दिए पछि काम सुरु भएको छ ।’, प्रदेश सभा सदस्य किरण थापाले भने । ‘जिम्मेवार निकायबाट भवन निर्माणमा कुनै अबरोध हैन सहयोग हुनुपरयो ।’, उनले भवनको छिट्टै प्रदेश मन्त्रालयले शिलान्यास गर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख इश्वरबहादुर थापाले माटो तथा खानीको अनुगमन गर्ने निकाय आफ्नो मातहतमा रहेकाले जिससलाई जानकारीनै नगराई माटो झिक्ने र लैजाने काम गरेकाले रोकेको बताए ।

उनले भने, ‘जिल्लामा धेरै ठाउँमा माटो, बालुवा खानीको उजुरी आइरहेका छन्, जिससलाई जानकारीनै नगराई काम गरे जुनसुकै ठाउँको भएपनि रोक्छौँ, त्यसैले यो आफ्नै गाउँको भए पनि रोकेको हुँ, मैले नै प्रहरी, प्रशासनलाई रोक्न भनेको हुँ ।’

सूनपा–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले प्रदेश सरकारको बिकासको कामलाई सघाउन स्थानीय शासन ऐन अन्तर्गत स्थानीय तहले प्रक्रिया पुर्याएर काम गर्दा पनि जिम्मेवार निकायबाट अबरोध आएको बताए । उनले भने, ‘बागमती प्रदेश सचिवबाट निर्देशन आएपछि जग्गा सम्याउन र बढी भएको माटो व्यबस्थापनका लागि वडा कार्यालयले स्थानीयको नाममा पाँचदिने सार्वजनिक सूचना जारी गरेको थियो, त्यसपछि नगरपालिकाको ऐन, नियम अन्तर्गत फागुन १५ गतेसम्म १० दिनका लागि नियमानुसार राजस्व लिएर माटो व्यवस्थापनका लागि ठेक्का लगाएका छौँ, नियम संगत काम गर्दा जिसस प्रमुखले फिल्डमै गएर रोक्न खोज्नु भएछ, जगातीको डिएसपीले सबै गाडी र डोजर समातेर ल्याउन निर्देशन दिनु भएछ, यसमा हामीले आपत्ति जनाएका छौँ ।’

जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई नियमसँगको सबै कागज पठाएपछि काम सूचारु भएको बताउदै यातायात कार्यालयको भवन निर्माण गर्न नदिने केही तत्वले विगतमा जस्तै चलखेल गरिरहेको उनले आरोप लगाए । भवन निर्माण स्थलको स्वायल टेष्ट (माटो परीक्षण) समेत गरेर काम सुरु गरेको बताए ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘जथाभावी माटो उत्खनन् गरेको भन्ने उजुरी आयो, त्यसैले अधिकार प्राप्त निकाय नगरपालिकासँग बुझ्यौ, नियम संगतनै रहेको थाहा पायौ, नियमसंगत भएका काममा हाम्रो अबरोध रहदैन ।’

भक्तपुरमा हाल सवारी चालक अनुमति पत्र वितरण सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरि मध्यपुरथिमिको राधेराधेमा भाडाको साँघुरो घरमा कार्यालय सञ्चालन भइरहेको छ भने सल्लाघारीस्थित अर्को भाडाको घरमा सवारी धनी पूर्जा बिलबुक नविकरण, धुवा पासलगायतका काम हुदै आएको छ । भवन निर्माणसँगै दुबै एकै ठाउँमा आफ्नै भवनमा बस्ने र सरकारको भाडामा जाने खर्च कटौती हुनेछ ।