November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने अध्यक्ष ओलीको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु : महेश बस्नेत

२०७९ कार्तिक २८

2.1K

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुने बताएका हुन् ।

आफु र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पुरा गर्नु रहेको उल्लेख गर्दै उनले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा रही देश विकासमा लाग्ने घोषणा गरे । आफुले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि नपरेको उल्लेख गर्दै अबका दिनमा अझ बढी सक्रियताका साथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्ने बताए ।

उनले भने, ‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ । परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाई, भाई भइसक्यो भन्ने बुझ्नुभएको छ । त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ । राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु ।’
जनताको मागलाई शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउँदै नेता बस्नेतले भक्तपुरको विकासको ब्राण्डेड पार्टी भनेको नै एमाले मात्र भएको दावी गरे । गठबन्धनका दलहरुले विकास र समृद्धिको बारेमा जानकारसमेत नरहेको उल्लेख गर्दै उनले भने, ‘गठबन्धन सरकार बनेको १८ महिनामा भक्तपुरमा कति बजेट आयो ? भनि प्रश्न गर्नुभयो । केपी ओली नेतृत्वको सरकारको पालामा भक्तपुरमा संघीय सरकारबाट मा २६ अर्वभन्दा बढी बजेट ल्याई पूर्वाधारका क्षेत्रमा ऐतिहासिक कामहरु भए ।’ उनले ‘जहाँ एमाले त्यहाँ विकास’ भन्ने अभियान नै चलाएको स्मरण गराए ।

Advertisement

जनताले टर्च बालेर भक्तपुरमा गठबन्धन दल तथा नेताहरु छन् कि छैनन् भनि जनताले खोजिरहेको उल्लेख गर्दै उहाँले एमाले जनताको सल्लाह बमोजिम चल्ने पार्टी भएकाले जनताको सुझावको आधारमा नै एमालेका उम्मेदवारको प्रतिवद्धता हुने बताए । भक्तपुरमा बेसिक लेभलको भौतिक पूर्वाधारको क्षेत्रमा विकास गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा एड्भान्स लेभलको विकास गर्ने प्रतिवद्धता बताए ।

भक्तपुरमा खानेपानी, सडक, ढल, स्वास्थ्य, शिक्षा, पर्यटन, धर्म, संस्कृति, परम्परा, कला लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गर्दै उनले आगामी दिनमा जनताको माग, चाहना र आवश्यकतालाई ध्यान दिँदै भक्तपुरको विकासलाई आधुनिकतामा रुपान्तरण गर्ने बताए । भक्तपुरको विकासमा एमालेले बोलेको कुरा पुरा गर्नेमात्र नभई बोनससमेत दिने पार्टी भएको उल्लेख गर्दै भक्तपुरमा कांग्रेसले १५ वर्ष नेतृत्व गर्दा गरेको पाँच वटा कामको लिस्ट दिन चुनौति समेत दिए ।