November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्यको सिटमा उपनिर्वाचन घोषणा

3.6K

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भई नेकपा (एमाले) प्रवेश गर्दा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य सिटमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको हो । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले वाग्मती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभा सिटमा निर्वाचन मिति घोषणा गरेको हो । ‘२०७८ साल जेठ ६ गते बिहीबारका दिन वाग्मती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय रामबहादुर थापा मगरको रिक्त पदमा पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८/०१/०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,’ आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैंतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था रहेको छ । सरकारको निर्णयका आधारमा आयोगले उक्त निर्णय लिएको हो ।

Advertisement

आयोगले राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि वैशाख १० गतेदेखि १४ गतेसम्म आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना पनि जारी गरेको छ ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आयोगले बिहीबारदेखि नै तयारी थालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।