हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बोलाएका छन् । चैत १८ गते काठमाडौँमा बस्ने गरी मुख्यमन्त्री पौडेलले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका हुन् ।
गत पुस १० गते आफुविरुद्ध बागमती प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि निर्देशन दिने उद्देश्यका साथ संसदीय दलको बैठक बोलाएको बागमती प्रदेशसभा सदस्य जुनेली माया श्रेष्ठले जानकारी दिइन् ।
गत पुस १० गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ जना सांसदहरुको हस्ताक्षरसहित बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । सो अविश्वास प्रस्तावमा नेकपा एमालेको नेपाल–खनाल पक्षका २३ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
चैत १८ गते काठमाडौंमा बस्ने एमालेको संसदीय दलको बैठकले नेकपा एमाले बागमती प्रदेशकी संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यसहितका सांसदहरुलाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता निर्देशन दिइने संसद श्रेष्ठले बताइन् ।
‘मुख्यमन्त्रीज्यूले चैत १८ गतेका लागि नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक बोलाउनु भएको छ । बैठक संघीय राजधानी काठमाडौँमा बस्ने छ । उक्त बैठकमा मुख्यमन्त्रीज्यूले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिनुहुनेछ,’ संसद् श्रेष्ठले भनिन् ।
बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ । कुल ११० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा नेकपा एमालेका ५७ जना सदस्य छन् भने माओवादी केन्द्रका २३ जना सदस्य छन् । काँग्रेसको २२, राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २, साझा विवेकशीलको ३ र स्वतन्त्र एक सांसद् छन् ।