धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसियू) स्थापना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय जिल्ला, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा तथा डोटीको जिल्ला अस्पतालमा दुई/दुई शय्याका गरी २० आइसियु बेड स्थापनाको तयारी गरेको हो।
डोटी जिल्लामा सघन उपचार कक्षका सबै सामग्री पुगिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए। ‘सघन उपचार कक्ष स्थापनाका लागि सबै उपकरण आइसकेको छ। केही भित्रमै सबै जडान कार्य सम्पन्न हुने छ,’ उनले भने।
प्रदेशका पहाडी जिल्लामा सघन उपचार कक्ष नहुँदा तराईका जिल्लामा रेफर गर्नुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारको पहलमा सबै जिल्लाका जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्न लागिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
डोटीसहित अन्य केही जिल्लामा सघन उपचार कक्ष जडानको कार्य शुरु भइसकेको छ भने केही जिल्ला अस्पतालमा प्राविधिक तयारीपछि जडानको काम हुने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।