काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आइतबार आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका छन्।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।
शाह गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।
फागुन २६ गते प्रदेश सभामा उनले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल नै अस्वीकृत भएको थियो। त्यसै दिन कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए।




